काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । साे संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका–७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रूपमा उद्घाटन गरे ।
चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै उक्त क्षेत्रमा बिमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे ।
संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बिमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उहाँले बताए ।
साे संस्थानका प्रशासन कवि पाठकले जीवन बिमामै जेठो कम्पनी संस्थान जीवन बिमाा व्यवसायमा जीवन बिमा कोषको आधारमा चौंथो र बिमााशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बिमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो ।
सो अवसरमा संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, चाबहिल शाखाका प्रमुख लक्ष्मीकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाबहिल शाखाबाट बिमा गर्नेहरूलाई बिमालेख हस्तान्तरण गरिएको थियो ।
यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रूपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिवद्घता व्यक्त गरे ।
सो अवसरमा संस्थानका अध्यक्ष कँडेल, प्रशासक पाठक, संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, सूर्यविनायक शाखा प्रमुख दिलकुमार लामालगायतको उपस्थिति थियो । संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार सुुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या ४ पुगेको छ ।