काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोड नगरपालिका वडा नं ५ पुगेर नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गरेका छन । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।
बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।
एक वर्षका अवधिमा करिब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।
त्यस्तै, उनले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।
प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।
उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको उनले बताए ।