काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले कमल पोखरीका बारेमा धेरै भ्रम सिर्जना गरिएको बताएका छन । उनले काठमाडौंका स्थानीय जनता, भाषा तथा जाति सम्बन्धी खलः पुचःहरूलाईसमेत भ्रमित तुल्याउन खोजिएको छ । यसतर्फ सबै सचेत हुन उनले आग्रह गरे ।
आइतबार जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षण तथा प्रवलीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर शाक्यले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मत सम्भार तथा जीर्णोद्धारका लागि महानगरका दायित्व र सम्पादन भएका काममा बारेमा उल्लेख गर्दै भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस्भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमल पोखरी पुनर्निर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु? यो त विरोधका विरोध मात्र हो ।’
पोखरी पुननिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले भने, ‘महानगरपालिकाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ । क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिसहरू अहिले सम्पदा अभियन्ताको खोल ओढेर विरोधमा आएको महसुस भएको छ । यसमा सबै सतर्क हुन आवश्यक छ ।’
त्यस क्रममा मेयर शाक्यले कमी कमजोरी भएको भए तथ्यमा औल्याउन आग्रह गरे । स्थानीय सांस्कृतिक जीवनलाई जोगाउन हामी लगानी गर्छौं । बर्षौंदेखि आएका चलनलाई बचाउन पाटी, सत्तललगायत सांस्कृतिक संरचना निर्माण गर्छौं । हामी सम्पदा बनाउँदै जाने, अनि सम्पदा बचाउँछौं भनेर जिम्मा पाएका निकाय तिनै संरचनालाई भाडा लगाएर आय गर्ने गरिरहेका उनले बताए ।
अब हामी यसो हुन दिँदैनौं । पुरातत्व विभागसँगको सम्बन्धका विषयमा कुरा गर्दै उनले भने, ‘पुरातत्व विभागले काम गर्न रोक्छ । त्यसको अपजस महानगरले व्यहार्नु पर्छ । विवाद सिर्जना गरेपछि त्यसको दायित्व लिन कुनै पनि निकाय अगाडि सरेका छैनन् । हामीले हनुमान ढोका दरबार क्षेत्रमा पुरातत्व विभागले हेर्ने संरचनामा व्यापार नगर्न पत्राचार गरेका छौं । यसमा उसको प्रतिक्रिया पर्खिरहेका छौं ।’