काठमाडौं । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ ।
१० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेगावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालङ्गा जलविधुत् आयोजनाको ३.४ किलोमिटर र १० मेघावाट क्षमताको सानीगाड जलविधुत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ ।
१५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
सन २०१७ देखि निमार्ण शुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भईरहेकोे छ ।
टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विधुतीय उपकरण जडानको काम भईरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, “३८.४६ मेगावाटको अपरकालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ ।
१५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ । सन् २०२० भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।
सुदुरपश्चिम लगायत देशमा हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना हुने र निर्माण सम्पन्न भएपछि ३५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । यो आयोजनाले नेपालमा भैरहेको लोडसेगिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदुरपश्चिमको विकासका लागि कोसेढुङ्गा सावित हुने कालङ्गा हाइड्रो प्रालीका संस्थापक वीरेन्द्र मल्लले बताए ।
यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । विधुत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निर्माण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ ।
आयोजना निमार्ण शुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाईरहेको छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरी रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताए ।
जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैङ्कको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यवसायिको लगानी छ । निजि क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ ।
प्रक्रियामै समय लाग्ने भएकाले सेयर निष्काशनमा केही ढिलाई हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजिको सुरक्षा नहुने भए पछि निजि क्षेत्र लगानी गर्न मानिरहेका छैन । निजि क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ ।