काठमाडौं । उखुको खोस्टा (बगास)बाट ६० मेगावाट बिजुली उत्पादन गर्ने क्षमता भए पनि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन बनाउन सहजीकरण नगर्दा चिनी उद्योग समस्यामा परेका छन ।
उखुको सह–उत्पादन बिजुली राष्ट्रिय ग्रीडसम्म जोड्न प्राधिकरणले लाइन नबनाइदिँदा उद्योगले बिजुली उत्पादन गर्न सकेका छैनन । निजी क्षेत्रबाटै प्रवद्धित जलविद्युत् आयोजनासम्म प्राधिकरणले प्रसारण लाइन बनाइदिन्छ । तर, चिनी उद्योगले उत्पादन गर्ने बिजुली ग्रीडमा जोड्न स्वंयम उद्योगले नै लाइन बनाउनुपर्छ ।
नजिकको सवस्टेशन तथा प्रसारण ग्रीडसम्म सम्बन्धित चिनी उद्योगले नै लाइन बनाउनुपर्ने बाध्यताका कारण उद्योगले बगासबाट बिजुली उत्पादन गर्नतर्फ जोड दिन सकेका छैनन् ।
तीन वर्षअघि उखुको खोस्टाबाट १५ मेगावाट बिजुली उत्पादनका लागि सर्भे लाइसेन्स लिएको रिलायन्स सुगर मिलले प्रसारण लाइन लगायतका समस्याका कारण अहिलेसम्म पनि विद्युत् खरिद बिक्रि सम्झौता(पीपीए) गरेको छैन ।
यता, इन्दुशंकर चिनी उद्योगसँग पीपीए भए पनि प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध र लागत महंगो पर्दा उद्योगले लाइन बनाउन सकेको छैन । सो मिलसँग ३ मेगावाट बिजुली उत्पादन गर्न पीपीए सम्झौता भएको थियो । उद्योगबाट उत्पादन हुने बिजुली प्राधिकरणको नजिकको सवस्टेशनसम्म जोड्नुपर्छ । करिव ५०० मिटरको लाइन जोड्न स्थानीयको अवरोध र लगानी अभावका कारण उद्योगले योजना अघि बढाएको छैन ।
हाल एभरेष्ट सुगर मिलको ३ मेगावाटबाहेक अरु चिनी मिलले बिजुली उत्पादन गर्न सकेका छैनन । सर्भे र पीपीए गरेका चिनी उद्योग पनि लाइन अभावकै कारण बिजुली उत्पादन गरेका छैनन । लाखौं रुपैयाँ खर्चेर लाइन उद्योग आफैंले बनाउनुपर्ने र त्यसमा सरकारले सहजीकरण नगर्दा बिजुली उत्पादनमा समस्या भएको चिनी उत्पादक संघका महासचिव राजेश केडियाले क्यापिटल नेपाललाई जानकारी दिए ।
चिनी उद्योगसम्म लाइन बनाइदिन विद्युत् प्राधिकरणले पनि सहजीकरण गर्नुपर्ने उनको भनाई छ । प्रसारण लाइनमा प्राधिकरणले सहजीकरण गरेको खण्डमा धेरै चिनी उद्योगले बिजुली उत्पादन थाल्ने उनको भनाई छ ।
‘लाइन जोड्ने काम प्राधिकरणले गर्ने हो भने धेरै छिटो हुन सक्छ, अरु उद्योगबाट बिजुली आउन सक्ला । प्राधिकरण चिनी उद्योगसम्म लाइन बनाइदिनभन्दा टाढै बस्न खोजिरहेको छ’ उनले भने,‘हाम्रा उद्योगले उद्योगले लाइन बनाउनुपर्दा लागत असाध्यै महंगो हुने र त्यसमाथि स्थानीय लगायतका समस्या छन ।’
चिनी मिलले बगासबाट बिजुली उत्पादन गरेमा लाइनको समस्या नभएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइन भन्दा पनि बगासबाट बिजुली उत्पादन अनुमतिपत्र जारी गर्ने लगायतका प्रकृयागत रुपमा प्रमुख समस्या बनेको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले बताए । हालसम्म एभरेष्ट सुगरमिलबाट ३ मेगावाटबाहेक अरु चिनी उद्योगबाट बिजुली उत्पादन नभएको उनको भनाई छ ।
हाल नेपालमा दर्जन चिनी मिल सञ्चालनमा छन । ती चिनी मिलबाट झन्डै ६० मेगावाटभन्दा बढी बगासबाट बिजुली उत्पादन गर्ने क्षमता छ ।
अहिले आएर अधिकांश चिनी उद्योगलाई उखुको अभाव छ ।
कच्चा सामग्री उखु नै नपाउँदा चिनी क्रसिङ पनि क्षमताअनुसार गर्न सकेका छैन । यसले उद्योगको आम्दानी घट्दै गएको छ । एक त कम क्षमतामा चलेका उद्योग, अर्को आम्दानी घटेको अवस्थामा उद्योगले लाखौं खर्चेर प्रसारण लाइन बनाउन सकेका छैनन ।