काठमाडौं । ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनालाई लगानी जुटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंकहरुले बिहीबार आयोजनामा १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन ।
आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत अर्थात ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।
आयोजनामा सराफ समूहको समेत लगानी रहेको छ । सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।
आयोजना गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा छ । स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेको १०० मेगावाटभन्दा माथिका आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो ।
यसअघि १६० मेगावाट लाप्चे खोला आयोजनाले १९ अर्ब ६५ करोड रुपैयाँ बैंकबाट लगानी जुटाएको थियो । नेपाल बैंकको अगुवाइमा सो आयोजनामा लगानी सम्झौता भएको छ ।
सराफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ । आयोजनाबाट वार्षिक ४९ करोड ८० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट ७० प्रतिशत वर्षा र ३० प्रतिशत हिउँदमा बिजुली उत्पादन हुनेछ ।
निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । सन् २०२१ को नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने र चार बर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसककेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् मार्किचोक सबस्टेसनमा जोडिनेछ । कम्पनीका अनुसार, सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्मण गरी सवस्टेनमा जोडिनेछ ।