बेनी । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्ने गरी हुन्छ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको सुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् ।
यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ । टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मङ्गलाले अगाडि बढाएको छ । सङ्घीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ ।
चालू आर्थिक वर्षमा पालिकाबाट १३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए।
उनका अनुसार ११० वटा योजना सम्झौता भइसकेका छन् भने १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रुपमा अघि बढेका छन् ।
‘‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले भने।
गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । सङ्घ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँचवटा १ करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्रे गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ ।
गाउँपालिकाले १ करोड १३ लाख रूपैयाँ लागत अनुमानमा बजार कालोपत्रे योजना सञ्चालन गरेको हो । १ करोड बढी बजेटकै दुई नमुना सडक आयोजनासमेत अघि बढाइएको छ । ३ करोड ३४ लाख रूपैयाँ बजेटबाट वडा नं ३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र रु एक करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरेको छ ।
त्यसैगरी गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणका लागि १ करोड रूपैयाँ बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ ।
नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिका लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मङ्गला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए।
गाउँपालिकाले मङ्गला माविलाई नमूना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा सङ्घीय सशर्त अनुदानबाट प्राप्त १ करोड ५० लाख रूपैयाँ बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताए ।
यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवालगायतका वर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने प्रचलनलाई हटाउँदै बहुउपयोगका लागि एकीकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाको भनाइ छ ।
अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकीकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस वर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ ।
पर्यटकीयस्थल झाँक्रिपानीमा पर्यटकका लागि दृष्यावलोकन स्तम्भ ९भ्यू टावर०समेत निर्माण गरी सकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा नं ४ को वडा कार्यालय भवनसमेत तयार भएको छ । जिल्लामा आफैं योजना सञ्चालन गरी वडा कार्यालय भवन निर्माण गर्ने मङ्गला नै पहिलो हो ।
सडक कालोपत्रे गर्ने पहिलो गाउँपालिका
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान १ करोड रूपैयाँ र गाउँपालिकाको १३ लाख रूपैयाँ बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो । सडक कालोपत्रे हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ ।
म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न सुरु भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दूरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन ।
बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्रे योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । करिब छ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौताअनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ ।
सडकको अधिकांश स्थानमा अनुमानित भन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटाले बताए । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो ।
कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रुपमा निगरानी गरिरहेका छन् ।
हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए ।