काठमाडौं । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम सुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।
३८ करोड १० लाख रुपैयाँको लागतमा काम सुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताए। त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । अघिल्लो वर्ष बोलपत्र आह्वान गरेर रद्द भएपछि दुःखी भएका यहाँका स्थानीयवासी फेरि कामको प्रक्रिया सुरु भएसँगै खुशी भएका छन् । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल सुरु गर्न लागिएको हो ।
त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम सुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो ।
त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सुरु भई निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने छ ।
डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन ।
जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरु भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो ।