काठमाडौं । चिनियाँ लगानीमा देशकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु हुने भएको छ । झापाको दमकबाट ८ किलोमिटर दक्षिणमा निर्माण हुने पार्कको फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएका छन ।
प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि औपचारिक रुपमा निर्माण सुरु हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को सङ्गमस्थलमा १ हजार ३०० बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर सरकारले पार्क बनाउन लागेको हो ।
औद्योगिक चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनी लिमिटेडले बनाउनेछ ।पार्कको पूर्वाधार बनाउन ६५ अर्ब रुपैयाँ चिनियाँ लगानी भित्र्याउन लगानी बोर्डले स्वीकृति दिएको छ ।
यो पनि हेर्नुहोस
चिनियाँ लगानीमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने, ६० अर्ब खर्च हुने
पार्कको काम लगानी बोर्डको सहजीकरणमा अघि बढेको हो । काम सुरु भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले जानकारी दिए । सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई १ अर्ब ३६ करोड रुपैयाँ मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड रुपैयाँ वितरण गरिसकेको उनले जानकारी दिए ।
सरकारले सो जग्गा ४० वर्षका लागि पार्कलाई भाडामा दिएको हो । पार्कमा सञ्चालन हुने उद्योगहरुबाट ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने छन । पार्कमा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका २६ वटा कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात गर्ने लक्ष्य रहेको थापाले बताए ।
यो पनि हेर्नुहोस
६४ अर्ब लगानीमा दमकमा चीन–नेपाल औद्योगिक पार्क निर्माण हुने, एमओयूमा हस्ताक्षर हुँदै
पार्कमा चीनको मात्र लगानी रहने र नेपालले यसका लागि चीन सरकारसँग कुनै ऋणसमेत नलिएको उनले स्पष्टपारे । औद्योगिक पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । कम्पनीले लगानी बोर्डमा डीपीआर बुझाइसकेको छ।
यसअघि औद्योगिक पार्क बनाउन बोर्ड र ल्हासा इकोनोमिकबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । पार्कको नाम चाईन नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क राखिएको छ ।
यो पनि हेर्नुहोस
दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको डीपीआर तयार, ६४ अर्ब लाग्ने