काठमाडौं । कोरोना महामारीका बीचमा बैंकहरुले जलविद्युतमा लगानी बढाएका छन । यसबीचमा बैंकहरुले ६ वटा जलविद्युत आयोजनामा झण्डै ३६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता समेत गरिसकेका छन । यो रकम ऋणको अंश मात्र हो ।
यो बाहेक विकासकर्ताहरुले अर्बौ रुपैयाँ स्वपुँजी (इक्विटी) थप लगानी गरेका छन ।विकासकर्ताहरुले आधा स्वपुँजी लगानी गरेपछि सम्झौता गरेका बैंकहरुले कर्जा प्रवाह सुरु गर्छन ।
बैंकहरुले लगानी गरेका आयोजनाको जडित क्षमता २५१ मेगावाट छ । लगानी सम्झौता भएका आयोजनाहरुमा ४८.५० मेगावाटको राहुघाट खोला, २१ मेगावाटको अपर खुदी, ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ तल्लो, १४ मेगावाटको तल्लो इर्खुवाखोला, १६० मेगावाटको लाप्चीखोला र २५ मेगावाटको सेती नदी आयोजना रहेका छन ।
यी आयोजनाहरुमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, कृषि विकास बैंकका साथै कर्मचारी सञ्चय कोषले पनि सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका छन ।
नेपाल राष्ट्र बैंकले २०८१ सम्म कुल कर्जाको १० प्रतिशत जलविद्युतमा लगानी गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेपछि बैंकहरु लगानी गर्न तातेका हुन । जसअनुसार २०७८ असारसम्म कुल कर्जाको ६ प्रतिशत लगानी जलविद्युतमा हुनुपर्ने वाध्यकारी व्यवस्था छ । यस्तै वार्षिक १ प्रतिशतका दरले लगानी बढाएर २०८१ सम्म १० प्रतिशत पुर्याउनु पर्नेछ । लगानी सिमा तोकेपछि यसलाई पुर्याउन धमाधम आर्थिक एवम प्राविधिक रुपमा संभाव्य आयोजनामा कर्जा प्रवाह बढाएका हुन ।
यस्तै विकास बैंकहरुले जलविद्युत, घरेलु तथा साना उद्योग र पर्यटनमा २० र वित्त कम्पनीहरुले १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ ।
मंगलबार तुँदी पावर कम्पनी प्राइभेट लिमिटेडले ४८.५० मेगावाटको राहुघाट खोला जलविद्युत आयोजना बनाउन बैंकहरुबाट ५ अर्ब ८१ करोड रुपैयाँ ऋण लिएको छ । यो आयोजनामा कुमारी बैंकको अगुवाईमा ऋण लगानी हुने सम्झौता भएको छ ।
आयोजना बनाउन ८ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा कुमारीका अतिरित्त ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंक र माछापुच्छ्रे बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका छन ।
यस्तै, वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी सिचुवान जी अन्ताई इनर्जी डेभेलपमेन्ट लिमिटेड रहने भएको छ । आयोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यस्तै सोमबार २१ मेगावाटको अपर खुदी जलविद्युत आयोजना बनाउन ५ वटा वाणिज्य बैंकहरुले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन । आयोजनामा बैंक अफ काठमाण्डू (बीओके) को अगुवाईमा सो रकम ऋण लगानी हुने भएको छ ।
बीओकेको सह—वित्तियकरणमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक र एनसीसी बैंक रहेका छन । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत स्वपूँजी (इक्विटी) लगानी रहनेछ ।
सोमबार नै माबिलुङ्ग इनर्जी लिमिटेडले निर्माण गर्न लागेको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा २ वटा बैंकले ऋण लगानी सम्झौता गरेका छन । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रेले आयोजना सहवित्तीयकरण अन्तर्गत ६५ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन ।
आयोजनामा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन ।
संखुवासभा जिल्लामा रहेको आयोजनाको जडित क्षमता ४.९५ मेगावाट छ । आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वपुँजी लगानी रहनेछ । आयोजनाबाट २ करोड ८४ लाख १७ हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजना सन २०२२ को फेब्रुअरमा सम्पन्न हुने विकासकर्ताले जनाएको छ ।
भोजपुरमा निर्माण हुन लागेको तल्लो इर्खुवाखोला जलविद्युत आयोजना निर्माणका लागि ३ वटा बैंकले लगानी सम्झौता गरेका छन । १४.१५ मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको अगुवाईमा नेपाल एसबीआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन ।
आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र प्रवद्र्धकहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । यो आयोजनामा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड मुख्य स्वामित्व रहनेछ । २०७९ सालभित्र सम्पन्न हुने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजना बनाउन २ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
यसैगरी, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनालाई लगानी जुटेको छ । एनएमबी बैंकको अगुवाईमा ३ वटा बैंक तथा वित्तीय संस्थाहरुले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन । आयोजनामा एनएमबीले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
भिजन लुम्बिनीले कास्कीको माछापुच्छ्रे गाँउपलिकामा सेती नदी जल विद्युत आयोजनाको स्वपुँजी (इक्विट) बाट निर्माण गरिरहेको छ ।
व्यवसायिक घराना दुगडले बनाउँदै लाप्चे जलविद्युत
१६० मेगावाटको लाप्चे जलविद्युत आयोजनाको निर्माण गर्न लगानी जुटेको छ । प्रतिष्ठित व्यावसायिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको लाप्चे जलविद्युत आयोजना नाशा हाइड्रोपावर प्रालिबाट निर्माण हुन लागेको हो । आयोजना बनाउन २६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नेपाल बैंकको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका छन । बैंक तथा वित्तीय संस्थाहरुबाट १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।
आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डुले १ अर्ब र कृषि विकास बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन । २०७९ साउनसम्ममा उक्त आयोजनाबाट बिजुली उत्पादन सुुरु गरिने जानकारी समेत गराएको छ ।
आयोजना दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ । आयोजना निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी भन्दा माथि नेपाल र चीन सीमाना नजिक रहेको छ ।
कोरोनाको प्रभाव कम हुन थालेपछि कर्जाको माग ह्वात्तै बढेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए । उनले कोरोनापछि जलविद्युत क्षेत्रमा कर्जाको माग बढेको जानकारी दिए ।
यस्तै नेसनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डे राष्ट्र बैंकको नीतिका कारण जलविद्युतमा बैंकको लगानी बढ्न थालेको बताए । बैंकले लगानी बढाएपछि धेरै आयोजना निर्माणको चरणमा जान लागेको उनले सुनाए ।
जलविद्युत क्षेत्रमा केन्द्रीय बैंकले २०८१ सम्म निश्चित प्रतिशत कर्जा प्रवाह गरिसक्न निर्देशन दिएकाले पनि जलविद्युत क्षेत्रमा कर्जा लगानी बढाउनुपर्ने बाध्यतामा बैंकहरू भएको उनको भनाई छ ।