काठमाडौं । लामो समय कोभिडले प्रभावित बनेको १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाले आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।
कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगे पनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने उनले बताए । आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । बाँकी पनि सम्पन्न गर्न कामलाई तीव्रता दिँदै आएको उनको भनाइ छ ।
आयोजनाको २ हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थ्रु भएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये १५० मिटर पाइप जडान हुन बाँकी रहेको आयोजना प्रमुख सिलवालले जानकारी दिए।
आयोजना आफैँले सव स्टेसनसम्म आवश्यक पर्ने साढे तीन किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिने छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ ।
त्यस्तै, पावर हाउसमा मेसिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ । २ अर्ब २९ करोड रुपैयाँ लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो ।
तर, अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ ।