काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र (डिबेञ्चर) निष्कासन गर्न लागेका छन् । बैंकहरुले २२ अर्ब ४५ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन । ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ ।
ऋणपत्र निष्कासन गर्न बैंकहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन । बैंकहरुले न्यूनतम ६ देखि १५ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेका हुन । ऋणपत्रको ब्याजदर न्यूनतम ४ देखि अधिकतम ९ प्रतिशतसम्म दिने प्रस्ताव बैंकहरुले गरेका छन ।
ऋणपत्र निष्कासन गर्नेमा नबिल बैंक, साँग्रिला डेभलपमेन्ट बैंक, प्रभु बैंक, सेञ्चुरी कमर्शियल बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंक रहेका छन । रकमका आधारमा सबैभन्दा कम साँग्रीला डेभलपमेन्टको र बढी प्रभु बैंकको छ । साँग्रीलाले ७५ करोड र प्रभुले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कास गर्न लागेका छन ।
यो पनि हेर्नुहोस
अधिक तरलताले ऋणपत्रको ब्याजदर घट्यो, बैंकहरूले साढे ८ प्रतिशतमै निष्कासन गर्न थाले
बैंकहरूलाई लगानीयोग्य पुँजी संकट (क्रेडिट क्रञ्च) को अवस्था आएपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट चुक्तापुँजीको २५ प्रतिशतबराबर ऋणपत्र निष्कासन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनलाई पालना गर्न बैंकहरूले धमाधम ऋणपत्र निष्कासन गर्न थालेका छन । न्यूनतम ८ अर्ब रुपैयाँ चुक्तापुँजी हुने बैंकले २ अर्ब रुपैयाँ ऋणपत्र निष्कासन गर्नुपर्ने हुन्छ ।
बैंकहरूमा तरलताको हावी भएपछि ऋणपत्रको ब्याज घटेको छ । अधिक तरलताले गर्दा यस्तै निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटेको छ । मुद्दतीका साथै साधारण निक्षेपको पनि ब्याजदर घटेकाले यसको असर ऋणपत्रमा परेको छ ।
कर्जा लगानी बढेपछि तरलता कम हुन गई ऋणपत्रको ब्याजदर पहिलाको अवस्थामा आउने संभावना छ । ऋणपत्र बापतको रकम शतप्रतिशत कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
बैंकिङ प्रणालमा अझै पनि १ खर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँन । प्रणालीमा ७० अर्ब र राष्ट्र बैंकले प्रशोचन गरेको ३० अर्ब रुपैयाँ रहेको छ । केन्द्रीय बैंकले पुनर्कर्जा दिन थालेपछि बैंकमा तरलता देखिएको उनको भनाई छ ।
साउनयता २६ अर्ब ६० करोडको अनुमति
धितोपत्र बोर्डले साउनयता विभिन्न ९ वटा बैंकहरुलाई २६ अर्ब ६० करोड रुपैयाँ बराबरको २ करोड ६६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
ऋणपत्र अनुमति पाउनेमा सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डु, नेपाल इन्भेस्टमेन्ट बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड, प्राइम कमर्शिय बैंक, कामना सेवा विकास बैंक, कृषि विकास बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक रहेका छन । सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको छ । यसले वार्षिक ४ प्रतिशत ब्याज दिनेगरी ७ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्र निष्कासन गरेको छ । यि मध्ये केहीले निष्कासन गरिसके भने केहीको बाँकी छ ।