बुटबल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताएका छन । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए ।
अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताए। विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको चर्चा गरे ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए ।
उनले रुपन्देहीमा विकासका महत्वपूर्ण आयोजनाहरू निर्माणका क्रममा रहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको र अब दोस्रो चरणको अत्याधुनिक विमानस्थलको काम शुरु हुने जानकारी दिए ।
अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना २ वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताए । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको छ ।
अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको प्रक्रियाका लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने जानकारी दिए ।
यस्तै बुटवल नारायणघाट राजमार्गको कामले तीव्रता पाएको र सरकारले बुटवल गोरुसिङ्गे राजमार्गको स्तरोन्नतिका लागि डिपिआर निर्माणका क्रममा रहेको जानकारी दिए ।