काठमाडौं । सरकारले बिजुली आयात बन्द हुने दाबी गरिरहेका बेला हालसम्मकै सबैभन्दा बढी बिजुली आयात गरिएको छ । नदीहरुमा पानीको बहाव घटेर तल्लो तहमा पुगेपछि उत्पादन कमी भएपछि लोडसेडिङ हुन नदिन नेपाल विद्युत् प्राधिकरणले भारतबाट ७०० मेगावाटसम्म बिजुली आयात गरेको छ ।
गत वर्ष ६०० मेगावाट हाराहारीमा भारतबाट बिजुली आयात भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षदेखि बिजुली आयात नगर्ने बरु भारतलाई बेच्ने घोषणा गरेकै दिन सबैभन्दा बढी बिजुली आयात भएको हो ।
माघ १९ गते ढल्केबर सबस्टेसन उद्घाटनकै दिन प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि भारतबाट बिजुली आयात गर्नु नपर्ने बरु निकासी गर्ने बताएका थिए ।
यो पनि हेर्नुहोस
अर्को वर्षदेखि बिजुली आयात गर्दैनौं, भारतलाई बेच्छौं-प्रधानमन्त्री
खोलानालाहरुमा हिउँदे ‘सिजन’सँगै पानीको बहावमा भारी गिरावट आउन थालेपछि बिजुली उत्पादन क्षमता घट्दै गएको छ । पानीको बहाव घटेसँगै त्यसको प्रत्यक्ष असर बिजुली आयातमा देखिएको छ ।
खोलानालामा पानीको बहाव घट्दै गएपछि भारतबाट बिजुलीको आयात बढ्दै गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँद लागेसँगै खोलामा पानीको बहाव बढ्दा आयात बढ्ने गर्छ ।
यो पनि हेर्नुहोस
बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्छ-ऊर्जामन्त्री
फागुन ५ गते बुधबारसम्मको तथ्यांक हेर्ने हो भने ‘पिक पावर’मा ६५५ मेगावाट अर्थात ऊर्जाका हिसावले १ करोड ३६ लाख युनिट बिजुली भारतबाट आयात भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । अहिले उनले आयात कम हुन थालेको बताए पनि माग अझै गत वर्षको भन्दा बढी नै छ ।
माघ १९ ताका उत्पादन कम भई बिजुलीको माग बढेपछि ७०० मेगावाटसम्म बिजुली आयात भएको तिम्सिनाले जानकारी दिए । प्रवक्ता तिम्सिनाका अनुसार, खोलामा पानीको बहाव घट्ने र माग उच्च हुने भएपछि भारतबाट बिजुली आयात बढी गर्नु परेको हो । फागुनमा नदीहरुमा जलसतह सबैभन्दा कम हुने गरेको छ ।
प्राधिकरणले सुक्खाका कारण फागुन १५ गते नदीहरुमा जलस्तर सबैभन्दा कम हुने जनाएको छ । यस्तै चैत लागेपछि गर्मीका कारण हिउँ पग्लन थालेपछि विस्तारै उत्पादनमा सुधार हुने गरेको छ ।
हाल प्राधिकरणको राष्ट्रिय प्रणालीमा जडित क्षमता १४३० मेगावाट पुगेको प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको ३ वर्षको उपलब्धि प्रतिवेदनमा उल्लेख छ । हाल बिजुलीको माग १३२३ मेगावाट छ । पुसमा माग बढेर १४६० मेगावाटसम्म पुगेको थियो ।
हिउँद लागेसँगै खोलामा पानीको बहाव घटेर प्रणालीमा विद्युत् उत्पादन ६६८ मेगावाटमा झरेको छ । यो विद्युत प्राधिकरण र निजी आयोजनाबाट समेत गरी हो ।
मुलुकभर झन्डै १४०० मेगावाट बिजुलीको माग छ । बिजुलीको मागअनुसार स्वदेशमा बिजुली उत्पादन हुन नसक्दा भारतबाट बिजुली किन्नुपर्ने अवस्था छ । मुलुकमा लोडसेडिङ अन्त्य भए पनि हिउँद वा सुक्खायामको सिजनमा भने मागको ५० प्रतिशत बिजुली भारतबाटै आयात गर्नुपर्ने बाध्यता अझै हटेको छैन ।
हाल सञ्चालित अधिकांश जलविद्युत् आयोजना नदीप्रवाही(रन अफ दि रिभर) प्रकृतिका छन् । त्यस्ता जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता हिउँद वा सक्खायाममा एक चौथाइमा झर्ने गर्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा भारतबाट २२ अर्ब रुपैयाँको बिजुली आयात भएको थियो । तर, गत आव २०७६/०७७ मा भने ११ अर्बको बिजुली मात्रै आयात भएको थियो । गत वर्ष विद्युत् प्राधिकरणले वर्षादमा १०० मेगावाट बिजुली भारतमा निकासीसमेत गरेको थियो ।
कोरोनापश्चात उद्योग, कलकारखाना लगायत घरेलु ग्राहकमा बिजुली खपत बढिरहेको र गार्हस्थ्य वर्गमा पनि बिजुली माग बढ्दै गएको छ । अहिले कोरोनाका कारण निर्माणाधीन आयोजना ढिला भइरहेका छन् ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना चैतपछि मात्रै उत्पादन थाल्नेछ । अन्य २/४ वटा आयोजना थपिने प्राधिकरणको प्रक्षेपण छ । त्यसपछि भने बिजुली कता खपत गर्ने भन्ने प्राधिकरणलाई चिन्ता छ ।