काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लगानीमा निर्माणाधीन ३० मेगावाटको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन थाल्ने भएको छ ।
मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्रमा सबै निर्माण सकेर बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियार इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिए ।
उनले भने, “हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको छ । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको उनको भनाइ छ ।” बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी रहेको छ ।
विद्युतगृहको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडानअघि बढिरहेको आयोजनाले जनाएको छ । विद्युतगृहमा दुई उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ ।
उहाँका अनुसार प्रशारण लाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट ९ किलोमिटर टाढा प्रसारण लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, “हामीले यही फागुन महिनातिर निर्माणकार्य सक्ने लक्ष्य राखे पनि कोभिडलगायत विविध कारणले गर्दा निर्माणको अवधि थपिएको छ ।” रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ ।
विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगे पनि अब भने समय थप गर्न नपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार ६ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ५ वटा बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा बीपीसीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ ।