काठमाडौं । भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडको ढिलाइका कारण निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम प्रभावित हुन थालेको छ । भोइथले आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण जडानमा ढिलाइ गर्दा आयोजनाको काम प्रभावित हुन थालेको हो ।
उपकरण जडानको जिम्मा लिएको भोइथका मेकानिकल प्राविधिक कोरोना महामारीका कारण गत २०७६ चैत ८ गतेदेखि आफ्नो देश गएका उनी नेपाल फर्र्किएका छैनन् । यसले गर्दा विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प हुन गएको हो ।
।
उपकरण जडान छिटो सम्पन्न गराउन भोइथलाई ताकेता गरिए पनि जनशक्ति अझै उपलब्ध नगराएको आयोजनाले बताएको छ । सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथले ढिलासुस्ती गरिरहेको छ । यसले गर्दा आउँदो असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य पनि प्रभावित हुने संभावना बढेको छ ।
सन् २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ गत २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ । पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको प्राविधिकको भनाइ छ । हालसम्म आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथले कोभिड–१९ को कारण देखाउँदै आलटाल गर्दै आएको आयोजना प्रमुख छवि गैरेले बताए । उनले काम अघि बढाउन आयोजनाले ताकेता गरिरहेको जानकारी दिए ।
सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सीडब्लूईले आफ्ना काम अघि बढाइरहेको छ । तर, भारतीय कम्पनीले ढिलासुस्ती गरिरहेको छ ।
आगामी २०७८ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नुपर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख गैरेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताए । विद्युत् गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
कर्मचारी सञ्चय कोषको ऋण सहयोगमा निर्माण अवधिको ब्याजबाहेक सुरुको लागत १३ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएकोमा निर्माणमा ढिलाइ, विदेशी मुद्राको विनिमय दरमा परिवर्तन र प्राकृतिक विपत्तिका कारण आयोजनाको लागत बढ्न सक्ने देखिएको विकासकर्ता रसुवागढी हाइड्रोपावर लिमिटेडले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । रसुवागढीको वार्षिक आम्दानी ३ अर्ब २५ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि सञ्चय कोषले ब्याज घटाएर ९.७५ प्रतिशत कायम गरेको छ ।
यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरुङको ब्रेक थ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याक निर्माण कार्य भइरहेको छ ।
बालुवा थिग्र्याउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरुङमा रोकिएको र ल्याउने प्रक्रिया अगाडि बढेकाले पोखरी छिट्टै सम्पन्न हुने बताइएको छ ।