काठमाडौं । नेपाल स्टक एक्सजेन्ज (नेप्से) मा सूचीकृत भएका १० जलविद्युत् कम्पनी आयोजना रुग्ण भएका छन् । नेप्सेमा सूचीकृत यी आयोजनाको जडित क्षमता ५२ मेगावाट छ ।
जलविद्युत् कम्पनीहरूले आयोजना सञ्चालनका लागि सरकारसँग राहत तथा सहुलियत पाउनुपर्ने माग गर्दै आएका छन् । जसअनुसार, नेपाल राष्ट्र बैंकले अर्धवार्षिकी मौद्रिक समीक्षामार्फत १० मेगावाटभन्दा साना जलविद्युत् कम्पनीलाई विशेष पुनर्कर्जा दिने घोषणा गरेको छ ।
यसले वित्तीय रूपमा कमजोर भएर समस्यामा परेका नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीले पनि राहत पाउने भएका छन् । सर्वसाधारणको सेयर रहेका ती जलविद्युत् कम्पनीका आयोजनाहरू यसअघि नै नेप्सेमा सूचीकृत भइसकेका थिए । तर, दोस्रो बजारमा सूचीकृत भई कारोबार गर्ने जलविद्युत् कम्पनीका आयोजना समस्यामा परेका छन् ।
खासगरी, विगतमा खोलामा पानीको वहाव घटेर बिजुली उत्पादन कम, असमान विद्युत् खरिद दर (पीपीए) प्रसारण लाइनबाट पूर्ण क्षमतामा बिजुली प्रवाह नहुनु जस्ता कारणले आम्दानी घट्दा ती आयोजनाहरू संकटग्रस्त अवस्थामा पुगेका थिए । झन्डै ५२ मेगावाटका साना जलविद्युत् आयोजना संकटमा परेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) ले जनाएको छ ।
विगतमा नाफामा गएका राम्रा जलविद्युत् कम्पनीले मात्र पुनर्कर्जा पाउने गरेका थिए । तर, राष्ट्र बैंकले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले विशेष पुनर्कर्जा दिने निर्णय गरेकाले सबैजसो साना जलविद्युत् आयोजनाले पुनर्कर्जा सुविधा पाउने ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान बताउँछन् ।
नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीका साना जलविद्युत् आयोजनाले पनि पुनर्कर्जा पाउने उनको भनाइ छ । ‘सेयर बजारसँग सूचीकृत छन् कि छैनन् मतलव भएन । सबै १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले पुनर्कर्जा पाउँछन्,’ उनले भने ।
राष्ट्र बैंकको नीतिगत निर्णयले साना र समस्याग्रस्त ४३ वटा जलविद्युत् आयोजनाहरूले ५ प्रतिशत ब्याजमा पुनर्कर्जा पाउने छन । तर, त्यसका लागि राष्ट्र बैंकले छुट्टै कार्यविधि जारी गरेर कार्यान्वयनमा जानेछ ।
विगतमा वित्तीय रूपमा सबल नभएको अर्थात ग्रेड ५ को नीति नै थिएन । त्यतिबेला नै ती जलविद्युत् कम्पनी सूचीकृत भए । जलविद्युत् आयोजनाको रेटिङ गर्ने चलन नहुँदाका बखत नै ती जलविद्युत् कम्पनीहरू नेप्सेमा सूचीकृत भए । जुन, ती कम्पनीका जलविद्युत् आयोजना पनि समस्यामा परेका छन् ।
तर, अहिले भने नेप्सेले पनि ग्रेड ५ भन्दा माथि भएका कम्पनीलाई मात्र सूचीकृत गर्ने गरेको छ । हाल नेप्सेमा ३७ वटा जलविद्युत् कम्पनीहरू सूचीकृत छन् ।