काठमाडौं । पछिल्ला ३ वर्षमा ३३३ मेगावाट बिजुली थप भएको छ । बिजुलीको जडित क्षमता बढेर १ हजार ४३० मेगावाट पुगेको छ । वर्तमान सरकारका तीन वर्षका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी गराएका हुन् ।
ओली नेतृत्वको सरकार गठन हुनुअघि १ हजार ९७ मेगावाट बिजुलीको जडित क्षमता थियो । सरकारले अघिल्लो वर्ष १ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा हुन सकेन । यस्तै चालू आर्थिक वर्षमा सरकारले जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
यद्यपी कोरोना भाइरस महामारीले सम्पन्न हुने अन्तिम चरणमा रहेका आयोजना अवरुद्ध भएका कारण यो पनि पूरा नहुने निश्चित भएको छ ।
प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी ९८.८ प्रतिशत सम्पन्न भइसकेकाले यसै आर्थिक वर्षमा ४५६ मेगावाट विद्युत् थप हुने जानकारी दिए ।
३ वर्षको अवधिमा ६६ केभी क्षमताभन्दा माथिको विद्युत् प्रसारणलाइन ८३७ किलोमिटर विस्तार भई ४ हजार २५१ किलोमिटर पुगेको छ । धनुषाको ढल्केबरमा देशकै सबभन्दा ठूलो विद्युत् सब–स्टेसन निर्माण भई सञ्चालनमा आएको छ ।
म्याग्दी/पर्वतमा निर्माण भएको दोस्रो ठूलो विद्युत् सब–स्टेसनको हालै उद्घाटन गरिएको प्रधानमन्त्री ओलीले बताए । समीक्षा अवधिमा विद्युत्मा पहुँच पुग्ने जनसंख्या ६ प्रतिशतले बढेर ९० प्रतिशत पुगेको जानकारी दिए ।
प्रतिव्यक्ति विद्युत् खपत ११० किलोवाट घन्टावाट २६० किलोवाट प्रतिघन्टा पुगेको छ । समीक्षा अवधिमा विद्युत् चुहावट २५ प्रतिशतबाट घटेर १५.३ प्रतिशतमा झरेको फेरिहस्त प्रधानमन्त्रीले पेस गरेका छन् ।
बूढीगण्डकीको प्रारम्भिक कार्य २० प्रतिशतबाट ७० प्रतिशत सकिएको उनले जानकारी दिए । यस्तै विद्युतका तारलाई भूमिगत गर्ने काम काठमाडौंबाट सुरु गरिएको छ ।