काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो चारवर्षे कार्यकालमा विद्युत् चुहावट १३ प्रतिशतमा झार्ने बताएका छन् ।
आइतबार प्राधिकरणको सभा हलमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै शाक्यले आफ्नो कार्यकालमा अहिले कायम भएको चुहावट १३ प्रतिशतमा झारेर संस्थाको आम्दानी वृद्धिमा जोड दिने बताए ।
पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा विद्युत् चुहावट १५.१२ प्रतिशतमा झारेका थिए । घिसिङ बाहिरिएसँगै गएको मंसिरसम्म विद्युत् चु्हावट १.५ प्रतिशतले बढेको देखिन्छ ।
चालू आर्थिक वर्षमा १४.२ प्रतिशतमा चुहावट झार्ने प्राधिकरणको लक्ष्य भए पनि कोरोना महामारीका कारण सबैजना घरमै बस्नुपर्ने, उद्योग नचलेको र तीव्र अनुगमन नहुँदा चुहावट बढेको प्राधिकरणले जनाएको छ ।
शाक्यले आफ्नो कार्यकालमा अप्राविधिकतर्फको चुहावट अधिकतम घटाउने गरी प्रसारण लाइन र वितरण प्रणालीलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । कम्तीमा १ प्रतिशत विद्युत् चुहावट घट्दा प्राधिकरणलाई झन्डै ८० करोड रुपैयाँ आम्दानी हुन्छ ।
त्यस्तै, उनले आफ्नो कार्यकालभित्र विद्युत्को खपत बढाई हाल कायम रहेको प्रतिव्यक्ति विद्युत खपतलाई बढाएर ५०० युनिटमा पुर्याइने बताए । हाल नेपालको प्रतिव्यक्ति विद्युत् खपत २६० युनिट छ ।
त्यस्तै, शाक्यले आफ्नो कार्यकालमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणलाई चुस्त, दुरुस्त र भरपर्दो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जसअनुसार, आव २०७८/०७९ भित्र औद्योगिक क्षेत्रमा १ हजार मेगावाट बिजुली खपत बढाउने गरी विद्युत खपत अध्ययन कार्यदल(टास्कफोर्स) बनाइसकिएको बताए ।
उत्पादित बिजुलीको अधिकतम खपत हुने क्षेत्र उद्योग, कलकारखाना नै भएकाले त्यसका लागि प्रसारण लाइन र वितरणमा प्राधिकरण आफैँले लगानी गर्ने उनको भनाई छ । उद्योगले चाहेजति बिजुली दिन सक्ने वातावरण बनाउने शाक्यको भनाई थियो ।
आफ्नो कार्यकालमा काठमाडौं उपत्यकाको विद्युत् खपत क्षमता बढाएर ७०० मेगावाट पुर्याउने शाक्यको भनाई छ । हाल उपत्यकामा अधिकतम ४५० मेगावाट बिजुली खपत हुन्छ ।
उनले ६ हजार मेगावाटका आयोजना विद्युत् खरिद बिक्रि सम्झौता(पीपीए)को चरणमा रहेकाले ती आयोजनालाई पनि आफ्नै पालामा निर्माण सुरु गर्ने गरी वातावरण बनाउने उनले बताए ।
उनले आफूले ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासमा पनि जोड दिने बताए । आउँदो वर्ष दूधकोशी, उत्तरगंगा र बूढीगण्डकी जस्ता जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु गर्ने उनको भनाई छ ।
त्यस्तै, पम्पस्टोरेज जलविद्युत परियोजनाका लागि पनि अध्ययन भइरहेको उनको भनाई छ । आफ्नो कार्यकालमा नेपाल–चीनतर्फको रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र भारततर्फ न्यू बुटवल–गोरखपुर प्रसारण लाइन पनि निर्माण सम्पन्न गरी बिजुली निर्यात गर्ने बताए ।
आफूले बिजुली नपुगेको क्षेत्रमा दुई वर्षभित्र सवै क्षेत्रमा विद्युत्तीकरण गर्ने शाक्यले बताए । कार्यकारी निर्देशक शाक्यले प्राधिकरणका कर्मचारीको सरुवा÷बढुवा कसैको मुख हेरेर नगर्ने बताए ।
कार्यक्रममा उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले संस्थाभित्रकै अनुभवी र विशिष्टतमका आधारमा प्राधिकरणले नेतृत्व पाएकोमा खुसी व्यक्त गरे । प्राधिकरणको नेतृत्वले आगामी दिनमा गुणस्तरी बिजुली उपलव्ध गराउन प्रसारण लाइन र वितरणमा लगानी गर्नुपर्ने बताए । यसअघि कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई सरकारले प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पेको छ ।