काठमाडौं । पुराना कम्पनीले निस्फिक्री लगानी गरिरहँदा नयाँ बिमा कम्पनीलाई सोचेअनुरुप लगानी र आम्दानी गर्न सकस परेको छ । पुराना कम्पनीको तुलनामा नयाँको टेक्निकल रिजर्भ कम हुने भएकाले त्यताबाट हुने आम्दानी सोचेअनुरुप नभएको बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् ।
‘पुराना कम्पनीहरुको प्रमुख आम्दानीको स्रोत टेक्निकल रिजर्भ बनिरहेको छ । उनीहरुको पोर्टफोलियो पनि ठूलो हुन्छ,’ एक जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले क्यापिटल नेपालसँग भने, ‘कतिपय पुराना बिमा कम्पनीहरु कोर बिजनेस छाडेर टेक्निकल रिजर्भमा रहेको पैसा लगानी गरेर मनग्य आम्दानी गरिरहेका छन् ।’
पुराना कम्पनीले लगानी गर्नुपूर्व नियामक निकाय बिमा समितिमा स्वीकृतिसमेत लिनुपर्दैन । तर, नयाँ कम्पनीलाई बारम्बार लगानीका लागि स्वीकृति लिनुपर्ने बाध्यता छ ।
बिमा समितिले बनाएको नियमअनुसार टेक्निकल रिजर्भमा रहेको पैसामध्ये घरजग्गा, सेयर बजार, बैंकको मुद्दती खातामा राख्ने, कृषिमा लगानी गर्न पाइन्छ । बिमा समितिले घरजग्गा, सेयर बजार, कृषिमा लगानीको प्रतिशत तोकेको छ । सबै क्षेत्रमा बराबरी लगानी गर्न पाइँदैन ।
उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेभन्दा पनि बैंकको मुद्दतीमा पैसा राखेर ब्याज आम्दानी गर्न बिमा कम्पनीहरु उद्दत भएका छन् । नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब हाराहारी छ । त्यसैबाट टेक्निकल रिजर्भ राखिन्छ । त्यही रिजर्भको केही प्रतिशत मात्रै लगानी गर्न पाइन्छ ।
बिमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले बिमा कम्पनीहरु विकास निर्माणका काममा भन्दा पनि वाणिज्य बैंकमा मुद्दती निक्षेपमा मात्रै पैसा राख्न इच्छुक देखिएका छन् । क र ख वर्गका बैंकमा पैसा राख्ने अनि लगानीको दायरा बढाउनु भन्नु त्यति धेरै सान्दर्भिकता नहुने पौडेल बताउँछन् ।
टेक्निकल रिजर्भको आधारमा लगानी गरिने व्यवस्था नै वैज्ञानिक रहेको भन्दै अहिले कुनै हेरफेर जरुरी नरहेको बिमा समितिले बताएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलका अनुसार टेक्निकल रिजर्भ अनुसारको लगानी गर्न पाउने व्यवस्थाले नयाँ बिमा कम्पनीहरु मर्कामा परेका छन् ।
बिमा समितिले लगानीसँग सम्बन्धित तोकेको गाइड लाइन एउटै भए पनि कम्पनी आन्तरिक नीति–नियमअनुसार पनि लगानी फरक हुन सक्छ । केही कम्पनीहरुले बिमा समितिले तोकेको गाइड लाइनभन्दा बाहेकका क्षेत्रमा पनि लगानी गर्न चाहेको हुन सक्ने सीईओ पौडेल बताउँछन् ।
‘पुराना बिमा कम्पनीहरुको तुलनामा नयाँ बिमा कम्पनीहरुको टेक्निकल रिजर्भ नै कम हुने भएकाले, नयाँ बिमा कम्पनीको लगानीका क्षेत्र कम हुन्छ,’ उनले भने, ‘नयाँ बिमा कम्पनीले हरेक पटक टेक्निकल रिजर्भको लगानीका लागि बिमा समितिको स्वीकृति लिनुपर्ने बाध्यता छ ।’
तर, पुराना बिमा कम्पनीहरुले टेक्निकल रिजर्भबाट लगानी गर्न बिमा समितिमा धाइराख्नु नपर्ने कम्पनीहरु बताउँछन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्यायका अनुसार नयाँ कम्पनीहरुले आफ्नो बुक बिल्डिङ तय नगरेसम्म टेक्निकल रिजर्भको लगानीसम्बन्धी दायराले धेरै असर पार्दैन ।
नयाँ बिमा कम्पनीहरुको टेक्निकल रिजर्भ कम हुने भएकाले कम लगानी र पुराना बिमा कम्पनीको टेक्निकल रिजर्भ बढी हुने भएकाले बढी लगानी गर्न पाउने व्यवस्था छ ।