काठमाडौं । लक्ष्मी बैंकको ‘माई मोबाइल मनी भिडियो’ प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । डिजिटल भुक्तानीलाई जनस्तरसम्म पुर्याउने उद्देश्यका साथ बैंकले आयोजना गरेको मोबाइल मनी भिडियोमा २ सय ५० भन्दा बढीले सहभागिता जनाएका थिए ।
बैंकले छनौट गरेको विजयीहरूमा बिल भुक्तानी १ तर्फ विराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छे छन् भने भुक्तानी २ शीर्षकमा पोखराका विकास त्रिपाठी विजेता भएका छन् ।
नगद ट्रान्सफर शीर्षकमा मुस्ताङका छेवाङ गुरुङलाई छनौट गरिएको छ भने कार्ड सेवा शिर्षकमा काठमाडौंका सन्तोष शाक्य कार्डरहित नगद निष्कासन शीषर्कका भरतपुरका भुवन तिवारी बिजेता बनेको बैंकले जनाएको छ ।
बैंकले यसअघि ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागीहरूले बैंकको डेबिट कार्डका लागि विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरूमा प्रयोग हुँदै आएको छ ।
प्रत्येक शीर्षकमा ३ मिनेटसम्मको १–१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्थाअन्तर्गत सहभागीहरूले प्रत्येक शीर्षकमा ५० हजार गरी २ लाख ५० हजारसम्म जित्ने अवसर थियो ।
प्रतियोगितामा विभिन्न क्षेत्रहरूबाट २ सय ५० भन्दा बढी भिडियो प्रस्तुत भएकोमा दुईवटा भिडियोलाई विजेता घोषणा गरिएको छ। माई मोबाइल मनिु प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा सहभागीहरूले भिडियो पठाउनुपर्ने नियम थियो ।
प्रतियोगितामा प्राप्त भिडियोहरूबाट रचनात्मक कथावस्तु, कार्यान्वयन, र प्रासङ्गिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको बैंकले जनाएको छ।
यस्तै बैंकले प्रतियोगिताका सबै विजेताहरूलाई बधाई दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस प्रकारका नयाँ र रमाइला प्रतियोगिताहरू भविष्यमा पनि लिएर आउने प्रतिबद्धता जनाएको छ ।