काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।
सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर छ ।
दिगो विकासका लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुशरण गर्न र देशको कानुन र नियमनको पालना गर्न यस बैंकले सदैव मद्दत गर्दै आएको छ ।
नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो । कर्मभूमि समाजले व्यावसायिक ज्ञानको कमी, नेपालीबजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरूले भोग्नु परेको समस्याहरूलाई समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नेछ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
राज्यले लिएको विभिन्न किसिमका कर्जाहरूको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरि छरिएका शाखाहरूबाट विभिन्न शीर्षकमा हालसम्म करिब १ हजार ५ सय जनालाई करिब १ अर्ब ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ ।