गलकोट । नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आश पलाएको छ ।
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेगावट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले निसीखोलामा विद्युत् गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन भइरहँदा बागलुङका जनता आयोजना निर्माण हुनेमा आशावादी भएका छन् ।
पाँच वर्षदेखि अध्ययनकै क्रममा रहेको उक्त आयोजना नेपालकै ठूलो र नमूना आयोजनाका रुपमा सरकारले लिँदै आएको छ । आयोजना निर्माणको कार्य ढिलो गरी अध्ययनको अन्तिम चरणमा पुगेकाले यहाँका स्थानीयवासीमा आशा पलाएको हो ।
दुई वर्षअघि विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन गरेको नेपाल विद्युत् प्राधिकरणले अहिले निसीखोलामा निर्माण हुने भूमिगत विद्युत् गृहको ड्रिल प्रविधिको प्रयोग गरी अध्ययन थालेको छ ।
शुरुमा आयोजना निर्माण गर्न स्थानीयवासीले चासो नदिए पनि यसको फाइदाका विषयमा जानकारी पाएपछि आयोजना निर्माण गर्न ढोरपाटन र निसीखोलाका जनताले सहजता प्रदान गरेका थिए ।
आयोजना निसीखोलामै खसालेर बन्नुपर्ने पटक–पटक माग उठाउँदै आएपछि अहिले आयोजना बन्नेमा यहाँका जनता आशावादी भएको ढोरपाटन नगरपालिका–९ नवी गाउँका भक्तबहादुर विकले जानकारी दिए ।
“हामी निकै विश्वस्त छौँ, ढिलो चाँडो आयोजना बन्छ भन्नेमा अब हामी पुगेका छौँ”, विकले भने, “अहिले अध्ययन भइरहेको र केही वर्षमा आयोजना शुरु हुनेछ, यसले बागलुङवासीलाई निकै फाइदा हुनेछ र यहाँका गरीब समुदायका नागरिकको जीवनस्तर उकासिनेछ भन्ने हामीलाई विश्वास छ ।”
ढोरपाटनस्थित उत्तरगङ्गाको पानी खसाल्ने स्थान निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पुमा माटो परीक्षणको काम शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डिटेल डिजाइन पूर्व आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन गत वर्ष नै सम्पन्न भएको र अहिले भूमिगत विद्युत् गृह निर्माण हुने स्थानको अवस्थाको अध्ययन भइरहेको नेपाल विद्युत् प्राधिकरणका निर्देशक अजव सिंह महराले जानकारी दिए ।
अहिले आयोजनाको डिटेल डिजाइनको काम भइरहेको छ । प्राधिकरणका अनुसार आयोजना निसीखोलामै निर्माण गर्नेगरी नेपाल सरकारले विगत छ वर्षदेखि निरन्तररुपमा काम गरिरहेको छ । शुरुमा निसीखोला खसाल्ने अथवा रुकुम खसाल्ने भन्ने विषयमा ऊर्जा मन्त्रालयमा केही समस्या भए पनि प्राधिकरणले निरन्तररुपमा नै निसीखोलामा विद्युत् गृह निर्माण गर्नेगरी काम भइरहेको जनाएको छ ।
अहिले निसीखोलाको सम्पुमा हेलिकप्टरमार्फत सामान ढुवानी गरी माटो, ढुङ्गा परीक्षणको काम थालिएको छ । आयोजनाको ड्याम निर्माण हुने स्थान ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकाको पाँच स्थानमा केही वर्षअघि नै परीक्षण गरे पनि भौगोलिक जटिलताका कारण हेलिकोप्टरबाट सामग्री ढुवानी गर्नुपर्ने भए पनि निसीखोलामा निर्माण हुने भूमिगत जलविद्युत् गृहको माटो परीक्षण गर्न सकिएको थिएन ।
प्राधिकरणले एक हप्ताअघि हेलिकप्टरमार्फत ड्रिलिङ गर्ने स्थानमा सामग्री पुर्याएर अध्ययनको काम गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गतको उत्तरगङ्गा पावर कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकेशकुमार झाले जानकारी दिए ।
“हामीले आयोजनालाई निरन्तर अघि बढाएका छौँ, सरकारले निरन्तररुपमा आयोजनाको काम गर्न बजेटसमेत दिँदै आएको छ”, झाले भने, “ठूलो आयोजना र नेपालकै नमूना आयोजना भएका कारण अध्ययनमा धेरै समय खर्चिएका छौँ, अब विद्युत् गृहको भौगोलिक अध्ययनपश्चात् डीपीआरको कार्य शुरु हुन्छ ।”
यो आयोजना नेपालको सबैभन्दा सस्तोमा विद्युत् उत्पादन गर्ने आयोजना हुने भएकाले सरकारले यसलाई निरन्तररुपमा काम गर्ने गरी अगाडि बढाएको छ । झाका अनुसार सम्पुबाट ३३० मिटरभित्र ड्रिलिङ गरी भूमिगत विद्युत् गृह निर्माण हुने स्थानको अवस्थाका बारेमा जानकारी लिने आयोजनाले जनाएको छ । आयोजनाले भौगोलिक अध्ययनको काम ड्रिलिङपश्चात् सकिने र तुरुन्तै डिटेल डिजाइनतर्फ आयोजना जानेछ ।
यसअघि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएर सुझाव सङ्कलन गरी वातावरणीय मूल्याङ्कन तयार गरिसकेको छ ।
प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित बन्नसक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूखलगायतको लगत सङ्कलन भइसकेको छ ।
आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययन गरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ऊर्जा मन्त्रालयमा पेश भइसकेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि ८२८ मेगावाटको लाइसेन्स प्राप्त गरेको पाँच वर्ष पूरा भइसकेको छ ।
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगङ्गा जलाशययुक्त आयोजना रहेको समेत प्रतिवेदनमा उल्लेख रहेको छ ।
वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन आइसकेको र अब भौगोलिक अवस्थाको प्रतिवेदन तयार हुँदासाथ डिटेल डिजाइन गरी आयोजना अगाडि बढाइने प्राधिकरणको भनाइ रहेको छ ।
८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन । आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३५० मेघावाट उत्पादन हुने भएपछि निसीखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ ।
उक्त आयोजना निर्माण गर्नका लागि करीब ६०० घरधुरी विस्थापित हुनेछन् भने पाँच हजार कित्ता जमीन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ । ढोरपाटनमा रहेको उत्तरगङ्गा नदीको पानीलाई एक हजार ३५० मिटर तल निसीखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ ।
आयोजना निर्माणका लागि करीब १ खर्ब २० अर्ब रुपैयाँ खर्च लाग्नेछ । जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि वर्षात् र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुनेछ । विस्तृत प्रारुपमा मेगावाट र खर्च केही तलमाथि हुन सक्नेछ । हिउँदको समयमा रुकुम जाने पानीलाई सोही अनुसार पठाउने गरी सब–ड्याम निर्माण गर्ने र सोही ड्यामबाट समेत ८ मेगावाट विद्युत् उत्पादन गर्न सकिने गरी काम गर्दा विवाद टर्ने उत्तरगङ्गा पावर कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकेशकुमार झाले बताए।
“निसीखोलामा खसाल्नेबाहेक अन्य कुरा प्राधिकरण छैन, हिउँदमा रुकुम बग्ने उत्तरगङ्गालाई नसुकाउनका लागि वर्षाको सबै पानी ड्याममा जम्मा गर्ने योजना रहेको छ । सबड्याममा जम्मा भएको पानी हिउँदमा रुकुम बगाइनेछ भने मुख्य ड्याममा जम्मा भएको पानी निसीखोलामा खस्नेछ ।
१० वर्षअघि जाइकाले ढोरपाटन क्षेत्रमा ८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् निर्माण गर्न सकिने बताएपछि यस क्षेत्रका जनताले जलविद्युत् तथा पर्यटनको क्षेत्रमा विकास हुनेमा बागलुङवासी विश्वस्त छन् । हालसम्म सरकारले उच्च प्राथमिकताको आयोजनामा राख्दै आएको उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई निरन्तररुपमा अध्ययन गर्न बजेटसमेत विनियोजन गर्दै आएको छ ।