तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्रे सम्पन्न हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रेको काम अगाडि बढेको हो । गत वर्षको मङ्सिर पहिलो सातादेखि काम सुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
वैशाखसम्म सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिएका छन् ।
सो सडक कालोपत्रे गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । “बेस हाल्न सुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्”, ढुङ्गानाले भने ।
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५ सय ७३ रूपैयाँको लागतमा सडक कालोपत्रेको ठेक्का लागेको छ ।
उक्त सडकको ट्रयाक विसं २०५२ मा खुलेको थियो । सडक कालोपत्रेका लागि काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो ।
६ किमी सडकको १० मिटर दायाँबायाँमध्ये ९ मिटरमा कालोपत्रे गरिनेछ । सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रे भएपछि सहज हुनेछ ।
उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम सुरु भएपछि स्थानीयवासी खुसी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए। सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए ।