काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु भएको छ । आयोजनाले बाँध निर्माणका लागि अरुण नदीको पानी डाइभर्सनको काम सुरु भएको छ ।
डाइभर्सनको काम गर्न ४२९ मिटर लामो सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । सोमबारदेखि नदीको पानी सुरुङतर्फ फर्काउने काम सुरु भएको विकासकर्ता एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ४० प्रतिशत काम सकिएको छ ।
बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको छ ।बाँधस्थलमा जयप्रकाश एशोसियटस तथा विद्युतगृह क्षेत्रमा पटेल इञ्जिनीयरिङले काम गरिरहेका छन् ।
परियोजनामा अहिले भारतीय र नेपालीसहित ३ हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।
परियोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । कोरोना महामारीले गर्दा आयोजनाको काम पछि धकेलिएको छ । यन्त्र राख्न १६ हजार ७०० घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार ४०० घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।
१ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ लिनेछ ।
आयोजनाबाट प्रभावित स्थानीयवासीले १ अर्ब ६० करोडको सेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् ।
परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाललाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।