काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ ।
परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको एसजेबीएन अरुण ३ डेभलपमेन्ट कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए ।
आयोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइने छ ।
बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।
बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।
परियोजनामा अहिले भारतीय र नेपालीसहित ३ हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।
परियोजना विकास सम्झौता (पिडिए्) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार ७०० घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार ४०० घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।
१ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ लिनेछ ।
परियोजनाबाट प्रभावित स्थानीयवासीले १ अर्ब ६० करोडको सेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् ।
परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।