काठमाडौं । भारतको एसजेवीएन लिमिटेडले २१ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेको छ । बढी निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि एसजेवीएनले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पाएको हो ।
एसजेवीएनले तल्लो अरुणबाट उत्पादन हुने बिजुलीको २१ प्रतिशत निःशुल्क दिने प्रस्ताव गरेको लगानी बोर्डका प्रवत्ता तथा सहसचिव धर्मेन्द्रकुमार मिश्रले बताए । तल्लो अरुणको जडित क्षमता ६७९ मेगावाटलाई आधार मान्दा नेपालले १४२ मेगावाटसम्म निःशुल्क बिजुली पाउनेछ । उसले बाँकी बिजुली भारतमा निकासी गर्ने प्रवत्ता मिश्रले जानकारी दिए ।
यो पनि हेर्नुहोस
भारतीय कम्पनी एसजेबीएन लिमिटेडले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना
एसजेबीएनले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि तल्लो अरुणको जडित क्षमतामा हेरफेर हुनेछ । जडित क्षमताका आधारमा नेपालले निःशुल्क बिजुली पाउने भएको छ । यसअघि एसजेबीएनले २१.९ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि प्रतिस्पर्धाबाट ९०० मेगावाटको अरुण तेस्रो आयोजना पाएको थियो ।
अरुण तेस्रोबाट नेपालले १९८ मेगावाट निःशुल्क बिजुली पाउनेछ । तल्लो अरुणमा पनि निर्माणाधीन अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर लगानी बोर्डले प्रस्ताव आह्वान गरिएको थियो ।
यो पनि हेर्नुहोस
तल्लो अरुण बनाउन कम्पनी छनोट गर्दै बोर्ड, पावर चाइना र सतलजमध्ये कसले मार्ला बाजी ?
आयोजनाको बोलपत्रमा भाग लिने कम्पनीहरूले न्यूनतम २० प्रतिशत निःशुल्क बिजुली प्रस्ताव गर्नुपर्ने उल्लेख थियो । लगानी बोर्डले आह्वान गरेको बोलपत्रमा न्यूनतम निःशुल्क बिजुलीको सीमा तोकेको थियो । बोर्डले निःशुल्क बिजुलीलाई बोलपत्रको ५० प्रतिशत अंकभार तोकेको थियो ।
बाँकी ५० प्रतिशत भार प्राविधिक ज्ञान, बिजुली निकासी, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन र आयोजना निर्माणको कार्यतालिकालाई तोकेको छ । सरकारले गरेको संभाव्यता अध्ययन प्रतिवेदन खरिद गर्न न्यूनतम १६ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने बोलपत्रमा उल्लेख छ ।
एसजेबीएनले ९०० मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको ४० प्रतिशत काम सकिएको छ । अरुण तेस्रो र तल्लो अरुणबाट भारतीय कम्पनी एसजेबीएनले १६०० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।
यो पनि हेर्नुहोस
तल्लो अरुण आयोजनामा भाग लिने कम्पनीले न्युनतम २० प्रतिशत निःशुल्क बिजुली प्रस्ताव गर्नुपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अन्तर्गत आफै निर्माण सञ्चालन र हस्तान्तरण (बूट) मोडेलमा विकास गर्न तल्लो अरुण आयोजनामा एसजेबीएनलाई छनौट गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्याङ्कन गरी सो निर्णय भएको मिश्रले बताए । आयोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा छ ।
२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले तल्लो अरुण आयोजना लगानीकर्ताहरु समक्ष प्रस्तुत गरेको थियो । एसजेबीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी हो । सतलज भारत सरकार स्वामित्वको कम्पनी हो ।
यो पनि हेर्नुहोस
तल्लो अरुण आयोजना बनाउन लगानी बोर्डले माग्यो प्रस्ताव, निःशुल्क ऊर्जालाई प्राथमिकता
आयोजना बनाउन नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र पावर कन्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) संयुक्त र भारतको एसजेबीएनले प्रस्ताव पेश गरेका थिए ।
गत वर्ष ०७६ असोज ६ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४० औं बैठकले एचआईडीसीएल तथा पावर चाइना संयुक्त, भारतको सतलज जलविद्युत र ग्रीन रिसोर्सेज प्राइभेट लिमिटेड र इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) लाई छनोट गरेको थियो ।
यो पनि हेर्नुहोस
तल्लो अरुण जलविद्युतमा ३ कम्पनी छनोट, आयोजना निर्माणका लागि प्रस्ताव आह्वान गरिने
यसमध्ये एचआईडीसीएल तथा पावर चाइना र भारतको एसजेबीएनले मात्र आयोजना बनाउन प्रस्ताव पेस गरेका थिए । ग्रीन रिसोर्सेजले र जापानको जे पावरले प्रस्ताव नै पेस गरेन ।
संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको सतलजलाई तल्लो अरुण आयोजना बनाउन दिन भारतले अनुरोध गरेको थियो । यसअघि भारतीय तत्कालीन ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले आयोजना सतलजलाई बनाउन दिन अनुरोधसमेत गरेका थिए ।
यो पनि हेर्नुहोस
भारतले माग्यो तल्लो अरुण जलविद्युत् आयोजना, लाइसेन्स दिए तत्काल काम थाल्छौँ : भारतीय ऊर्जा राज्यमन्त्री सिंह
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । अरुण तेस्रोबाट बिजुली उत्पादन भएको पानी सिधै तल्लो अरुणको सुरुङमा जानेछ ।
अरुण तेस्रो आयोजनाबाट निस्किएको पानीलाई सिधै सुरुङमार्फत प्रवाह गरेर विद्युत उत्पादन हुनेछ । आयोजना बनाउन बाँध नपर्ने भएकाले लागत सस्तो पर्ने संभाव्यता अध्ययनले देखाएको छ ।