काठमाडौं । जापान सरकारले निर्माण गरेको बीपी राजमार्ग पुनर्निर्माणमा ९१ करोड ऐन( नेपाली १ अर्बभन्दा बढी रकम) खर्चिएको छ । वि.सं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भू–कम्पका कारण बीपी राजमार्गको विभिन्न पाँच ठाउँमा सडकमा क्षति पुगेको थियो ।
बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबासको १६० किलोमिटर सडकका विभिन्न पाँच ठाउँमा सडक पुनर्निर्माण गर्नुपर्ने थियो । विहीबार मन्त्रालयमा भर्चुअल्ली कार्यक्रममार्फत जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
भर्चुअल्ल कार्यक्रमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले नेपालको विकासमा जापान सरकार मुख्य साझेदार मुलुक बनेको बताए । नेपालको संस्थागत विकासका क्षेत्रसँगै इनर्जी, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जापान सरकारको सहयोगमा अतुलनीय योगदान रहेको बताए ।
त्यस्तै, सो अवसरमा जापनीज राजदूत मासामिची साइगोले नेपालको विकासमा जापान सरकारको सधैं सहयोग निरन्तर रहिरहने बताए ।
बीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर सन् २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । तर, विनाशकारी भूकम्पका कारण सडकखण्डका विभिन्न ठाउँमा क्षति पुगेको थियो ।
सो क्षतिग्रस्त सडक पुनर्निर्माण पनि जापानले नै पुनर्निर्माण गर्ने गरी काम अघि बढाएको थियो । जापानीज कम्पनीले बीपी राजमार्गको पुनर्निर्माण सन् २०१९ जुलाई ३ मा सुरु गरेको थियो । करिब १८ महिना जापनीज कम्पनीले पुनर्निर्माणको सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
पुनर्निर्माणमा गिट्टी, बालुवा र गिट्टीबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो । परामर्शदाता कम्पनी निप्पन कोइ हो भने निर्माण कम्पनी जापानी हाज्मा आन्दो हो ।सो निर्माण कम्पनीले अहिले नागढुंगा सुरुङमार्ग पनि निर्माण गरिरहेको छ ।
अरनिको राजमार्ग र पूर्व-पश्चिम राजमार्ग जोड्ने गरी जापान सरकारले बीपी राजमार्ग वातावरणमैत्री र आधुनिक प्रविधियुक्त बनाएको थियो ।