काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत बागलुङका ६८ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न बाँकी रहेको जनाइएको छ ।
जिल्ला आयोजनाका निमित्त प्रमुख रेणुका पाण्डेले २ सय ४४ घर निर्माणाधीन भएको, ५७ घरले किस्ता नलगेको र २ सय१ घर लाभग्राहीबाट स्वतः बाहिर परिसकेको जानकारी दिए ।
बागलुङ नगरपालिकामा सबैभन्दा थोरै ५९ प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अन्यमा क्रमशः बढी घर बनेको बताइएको छ । जैमिनी नगरपालिकामा ७८, गलकोटमा ६५ र ढोरपाटन नगरपालिकमा ६१ प्रतिशतले घर बनाएका हुन् । गाउँपालिकातर्फ काठेखोलामा ७४, बरेङमा ६२, निसीखोलामा ६७, तमानखोलामा ८४, बडिगाड गाउँपालिकामा ५९ र ताराखोला गाउँपालिकामा ७१ प्रतिशत लाभग्राहीले घर बनाएको तथ्याङ्क छ । अहिलेसम्म एकवटा घरले मात्रै बनाउन नसक्ने भनेर पहिलो किस्ता लगे पनि फिर्ता गरेका छन् ।
प्राधिकरणले ५ वर्षको अवधिमा दुईवटा पक्की पुल निर्माण गरिरहेको, झण्डै १० किमी सडक निर्माण गरेको र झण्डै २०० विद्यालय निर्माण गरिसक्न लागेकोसमेत उनले बताए । यस अवधिमा दुईवटा स्वास्थ्य चौकीसमेत निर्माण गरेको हो । प्राधिकरणमार्फत विद्यालय हेर्ने शिक्षा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकाले काम गर्ने तल्लो तहका प्राविधिक र लाभग्राहीले भने समयमा काम लिन कठिन भएको कतिपयले गुनासो गरेका थिए ।
प्राधिकरणका सह–सचिव गोपालप्रसाद अर्यालले जिल्ला तहबाट सम्बोधन गर्न छुटेका साना कुराले प्राधिकरणसम्म गुनासो आएको जानकारी दिए । उनले जिल्ला तहमा गुनासो नआउने गरी काम गर्न पनि आग्रह गरे । कतिपय विषय भने केन्द्रीय तहबाट निर्णय भएर आएपछि मात्रै काम गर्नुपर्दा ढिला भएको पनि उनले बताए ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले काम राम्रो भए पनि अझै प्रभावकारी बनाउने, जनतालाई समयमा आवास सक्ने वातावरण बनाउने र ग्रामीण परिवेशअनुसार छाउने वा बनाउने प्रकृतिलाई प्राविधिकले छुट दिएर अगाडि गएमा सफलताको प्रतिशत बढ्ने बताए । कतिपय स्थानमा ढुङ्गाले छाना छाएकाले प्रगति नदेखिएको भन्नेमा ढुङ्गा स्थानीय सामग्री भएकाले त्यसको व्यवथापनमा प्राधिकरणले ध्यान दिनुपर्नेसमेत उनले जोड दिए ।
पाँच वर्ष सकिएर पनि प्राधिकरणले अझै एक वर्ष म्याद थपेर पुनर्निर्माणको काम गरिरहेको छ । जिल्लामा पनि यही माघ मसान्तभित्र पहिलो किस्ता लैजानेले मात्रै लाभग्राहीमा सूचीकृत भएर घर बनाउन पाउने प्रावधान बनेको छ । माघ मसान्त कटेपछि लाभग्राहीले रकम लैजान नपाउने व्यवस्था छ ।
त्यस्तै, लमजुङमा ६० प्रतिशत निजी आवस पुनर्निर्माण भएको छ । गोरखा भूकम्प यता हालसम्मको अवधिमा ८ हजार ६ सय ११ निजी आवस पुनर्निर्माण सम्पन्न भएको आज बेँसीसहरमा राष्ट्रिय पुनर्निमाण प्रविधिकरणले आयोजना गरेको निजी आवाससहित पुनर्निर्माण चालू कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो ।
लमजुङमा रहेका कूल लाभग्राही १४ हजार ६ सय ४९ मध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले जनाएको छ । कार्यालयका अनुसार १४ हजार २९ ले पहिलो किस्ता लिएका छन् भने १० हजार ८ सय ५८ जनाले दोस्रो किस्ता लिएका छन् । जिल्लामा रहेका आठ स्थानीय तहका लाभग्राहीमध्ये क्व्होलासोथर गाउँपालिकामा ३ सय ४६ कूल लाभग्राहीमध्ये ३ सय १४ जनाले पहिलो किस्ता, १ सय ५७ ले दोस्रो किस्ता र १ सय ३७ जनाले अन्तिम किस्ता बुझेका छन् ।
त्यस्तै बेँसीशहर नगरपालिकाका एक हजार ३ सय ८६ कूल लाभग्राहीमध्ये एक हजार ३ सय २८ ले पहिलो किस्ता लिएका छन् भने ९ सय ४९ ले दोस्रो किस्ता लिएको र ८ सय ३३ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । मध्यनेपाल नगरपालिकाका एक हजार ५ सय ९९ कूल लाभग्राहीमध्ये एक हजार ५ सय २८ ले पहिलो किस्ता, एक हजार ३१ जनाले दोस्रो किस्ता र ८ सय २२ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।
त्यस्तै। दोर्दी गाउँपालिकामा कूल लाभग्राही दुई हजार २ सय ८० मध्ये दुई हजार २५६ ले पहिलो किस्ता, एक हजार ७ सय १९ ले दोस्रो र एक हजार ४ सय १७ ले अन्तिम किस्ता बुझेका छन् । मस्र्याङ्दी गाउँपालिकामा ९ सय ५४ कूल लाभग्राहीमध्ये ९ सय ७ ले पहिलो किस्ता, ७ सय ४१ ले दोस्रो र ६ सय ५९ ले अन्तिम किस्ता बुझेका छन् ।
सुन्दरबजार नगरपालिकाका दुई हजार ४६२ लाभग्राहीमध्ये दुई हजार २ सय ९४ ले पहिलो किस्ता, एक हजार ६ सय ९१ जनाले दोस्रो र अन्तिम तथा तेस्रो किस्ता लिनेमा एक हजार ३ सय १२ रहेका छन् । राइनास नगरपालिकामा कूल लाभग्राही तीन हजार १५४ मध्ये तीन हजार ले पहिलो किस्ता, दुई हजार ४७३ ले दोस्रो र एक हजार ९ सय ५२ ले अन्तिम किस्ता बुझेका छन् ।
दूधपोखरी गाउँपालिकामा दुई हजार ४ सय ६८ कूल लाभग्राहीमध्ये दुई हजार ३ सय ९२ ले पहिलो किस्ता, २ हजार ९७ ले दोस्रो र एक हजार ४ सय ७४ ले अन्तिम किस्ता बुझेको इकाइ प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिए।
भूकम्पपश्चात् जिल्लामा विसं २०७३ पुस १ गतेबाट लाभग्राहीको अभिलेख व्यवस्थापनको काम साबिक जिल्ला विकास समितिले गर्दै आएको थियो । पछि विसं २०७४ मङ्सिर ११ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय स्थापना भई विसं २०७४ पुस १ गतेदेखि स्थानीय तहमा प्राविधिक परिचालन गरिएको एवं निजी आवासको अनुदान वितरण गर्ने गरी विसं २०७५ जेठ १ गतेबाट हालको जिल्ला आयोजना कार्यान्वयन इकाइको स्थापना भएको थियो ।