काठमाडौं । माथिल्लो तामाकोसीपछि सम्पन्न हुने चरणमा रहेको १११ मेगावाट क्षमताकोे रसुवागढी जलविद्युत् आयोजना आउँदो असार मसान्तसम्म सम्पन्न नहुने देखिएको छ । कोरोना महामारीका कारण आयोजनाको लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकलको काम विगत ९ महिनादेखि ठप्प हुँदा आयोजना लम्बिने भएको हो ।
लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिल निर्माण सुरु हुनै लाग्दा कोरोना महामारीका कारण भारतीय ठेकेदार कम्पनीले काम गर्न पाएन । कोभिड–१९ का कारण अवस्था प्रतिकूल भएपछि आयोजनामा कार्यरत चिनिँया र भारतीय कामदार फर्कन पाएनन् । फलस्वरुप, इलेक्ट्रो मेकानिकलको काम अघि बढ्नै सकेन ।
लट–२ को निर्माणको ठेक्का भारतीय ठेकेदार भोइथ हाइड्रो प्रालिले पाएको छ । यता, लट १ अन्र्तगत सिभिलतर्फको काम धीमा गतिमा अघि बढेको छ । तर, काम भने नरोकिएको आयोजना पक्षले जनाएको छ । सिभिलतर्फको काम चिनिँया ठेकेदार चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले पाएको छ ।
अहिले भने लट-२ अन्तर्गत इलेक्ट्रो मेकानिकलको काम सुरु गर्न न्यून संख्यामा चिनिँया कामदार आएका छन् । अहिले पनि आयोजना ठप्प प्रायः छ । इलेक्ट्रो मेकानिकलतर्फका सबैजसो निर्माण सामग्री आइसके पनि भारतबाट कर्मचारी आउन सकेका छैनन् ।
मुख्य रुपमा लट-२ कै काम प्रभावित हुँदा आयोजनाले २०७८ असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको हो । ‘लट-२ अन्तर्गतको इलेक्ट्रो मेकानिकलको काम कोरोना महामारीले विगत ९ महिनादेखि ठप्प हुन पुग्यो’ रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व मल्लले भने, ‘आउँदो असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य भएपनि सम्भव नहुने देखियो ।’
कोभिड–१९ को संक्रमण कहिलेसम्म लम्बिन्छ, त्यस आधारमा आयोजना कहिलेसम्म लम्बिन्छ भन्ने सक्ने अवस्था नरहेको सीईओ मल्लले बताए ।
एक त भूकम्प र नाकाबन्दीका कारण लम्बिँदै आएको र पछिल्लो पटक कोरोना महामारीले आयोजनाको समय र लागत बढ्ने देखिएको छ ।
विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) को अवधिमा कुल १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि, लागत संशोधन गर्दै २०७८ असार मसान्तसम्म १६ अर्ब २१ करोड लागत अनुमान गरिएको थियो ।
तर, असार मसान्तभित्र पनि आयोजना सम्पन्न नभएमा लागत केही बढ्ने आयोजनाले जनाएको छ । हालसम्म १२ अर्ब ३३ करोड रुपैयाँ आयोजनामा खर्च भइसकेको छ । खासगरी, आयोजना लम्बिदा कर्मचारी खर्च, कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्च बढ्ने देखिन्छ । परियोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणसँग सन् २०११ नोभेम्बर १४ मा पीपीए भएको थियो ।
यता, लट-३ अन्र्तगत ट्रान्समिसन लाइन निर्माण कार्य भने नरोकिएको आयोजनाले जनाएको छ । परियोजना सम्पन्न हुने बेलासम्म प्रसारण लाइन पनि बनिसक्ने देखिन्छ । हालसम्म आयोजनाको ७८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
आयोजनाको सबैजसो संरचना भूमिगत निर्माण हुनेछन् । विद्युत् प्राधिकरणको सहायक चिलिमे हाइड्रोपावर अन्र्तगतको जलविद्युत् आयोजना हो । सन् २०१४ को जनवरीमा सुरु भएको जलविद्युत् आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ ।
रसुवा जिल्लाको उत्तरी सिमाना रसुवागढीमा आयोजना निर्माण भइरहेको छ । अहिलेसम्म हेडवक्र्समा अन्डरस्ल्यूइस र इन्टेकको सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम सकिएको छ । इन्टेक स्लोप प्रोटेक्सन लगायतका सहायक काम सकिएका छन् ।
इन्टेक टनेल, अपरेसन टनेल, फ्लसिङ टनेल र आउटलेट टनेल को कार्य सम्पन्न भइ भूमिगत डिसेन्डरमा पहिलो चरणको कंक्रिटिङको काम सकिएको छ ।
कुल ४१८५ मिटरको लामो हेडरेस सुरुङको काम सकिएको छ । हाल सो खण्डमा इन्भर्ट कंक्रिटिङ र अन्तिम सर्पोटको काम भइरहेको छ ।
६ मिटर व्यासको टेलरेस टनेलको कुल लम्बाइ ६५९.३० मध्ये ६२५ मिटर अर्थात ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
जिल्लावासीलाई १० प्रतिशत सेयर निष्कासन
सो आयोजनाले आउँदो असारमसान्तभित्र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशतको सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ६ अर्ब ८४ करोड २१ लाख को ५१ प्रतिशत सेयर संस्थापक सेयरधनी समुहका लागि र ४९ प्रतिशत सेयर सर्वसाधरणका लागि छुट्याएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ४९ प्रतिशत अर्थात ३ अर्ब ३५ करोडको सेयर निष्कासनमध्ये कर्मचारी संचय कोष, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेको छ ।
चालू आवमा कम्पनीले आयोजना प्रभावित रसुवागढी जिल्लाका स्थानीय बासिन्दाहरुलार्इ जारी पूँजीको १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
सेयर निष्कासन तथा बिक्री वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाइएकोमा कोरोना महामारीका कारण केही ढिला हुन गएको कम्पनीका सीईओ मल्लले बताए । उनले आउँदो असारभित्र रसुवा जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्ने बताए ।