काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा विकासे मन्त्रालयको पूँजीगत खर्च न्यून देखिएको छ । खासगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पूँजीगत खर्च निकै न्यून देखिएको हो ।
कुल १ खर्ब २३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको भौतिक पूर्वाधार मन्त्रालयले चालू आवको ६ महिनामा २२ अर्ब ४ करोड अर्थात १७.७९ प्रतिशतमात्रै पूँजीगत खर्च छ । सहरी विकास मन्त्रालयको बिनियोजन भएको बार्षिक बजेटमध्ये चालू आवको मध्यावधिमा २४.४७ प्रतिशत पूँजीगत खर्च भएको देखिन्छ । २४ अर्ब ९७ करोड रुपैयाँ बजेटमध्ये सो अवधिमा ६ अर्ब ११ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
चालू आवमा ३६ अर्ब २२ करोड रुपैयाँ बजेट पाएको ऊर्जा मन्त्रालयले आइपुग्दा १३.९७ प्रतिशत पूँजीगत खर्च गरेको छ । सो मन्त्रालयले सो अवधिमा ५ अर्ब ६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।
खानेपानी मन्त्रालयको पनि पूँजीगत खर्चमा निकै कमी देखिन्छ । कुल २४ अर्ब ८२ करोड विनियोजन भएको बजेटमध्ये २ अर्ब २७ करोड रुपैयाँ पूँजीगत खर्च भएको देखिन्छ । जुन, पूँजीगत खर्च ९.१६ प्रतिशत हो ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ३१ अर्ब ५ करोड रुपैयाँ बजेटमध्ये ३ अर्ब रुपैयाँ अर्थात ९.१६ प्रतिशत मात्रै पूँजीगत खर्च भएको देखिन्छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले कोभिड–१९ को महामारीकाकारण विकासे आयोजनाको काममा पूँजीगत खर्च न्यून भएको जनाएको छ ।