काडमाडौँ महानगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ ।
यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालोपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।
त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । ९ सय ७२ मिटर ढल राख्ने र ८ सय ६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
कामपाभित्र करिब १ हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
२ सय एक चालू अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा सुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ १ अर्ब ६२ करोड रुपैयाँको योजना छन् ।
सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम सुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।
त्यसैगरी आयतर्फ अहिलेसम्म ३ अर्ब १० करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा ४ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ ।
सङ्कलित रकममध्ये १ अर्ब ७५ करोड रुपैयाँ अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।
कामपाले चालू आवमा १४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालू आवको विनियोजित बजेट ३ अर्ब १ करोड ६१ लाख ६ हजार रुपैयाँ छ ।