काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । चालू आर्थिक वर्षभित्रै कुल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् ।
स्वपुँजीतर्फ १ हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी २२ अर्ब र चुक्तापुँजी १६ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीले हालसम्म ८ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरी ५ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । सरकारलाई १ अर्ब ८५ करोड रुपैयाँ आयकर तिरेको छ ।
सेयरधनीलाई ६ अर्ब २८ करोड रुपैयाँ लाभांश वितरण गरेको छ । लाभांशमध्ये सरकारतर्फ २ अर्ब १६ करोड र अन्य सेयरधनीतर्फ ४ अर्ब १२ करोड रुपैयाँ वितरण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७८०७९ सम्म ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा १० अर्ब ७६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने लक्ष्य राखेको बताएको छ । आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ १०० अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।
११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट ३ अर्ब ३० करोड रुपैयाँ प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।
यसै आवभित्र सर्वसाधारणलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको छ । माघभित्रै हकप्रद सेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए ।