काठमाडौं । लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण डेढ वर्ष पर धकेलिएको छ । २०७६ साउनमा दोर्दीखोलामा आएको बाढीका कारण आयोजनाको हेडबक्स तथा ड्यामसाइड भत्किएर क्षति पुगेको र त्यसपछि कोरोना महामारीका कारण आयोजना प्रभावित हुँदा पूर्वनिर्धारित समयभन्दा डेढ वर्ष पर धकेलिएको हो ।
बाढीले ड्याम साइटमा क्षति पुर्याए पनि पुनः डिजाइन गरेर निर्माण अघि बढाउँदा एक वर्ष ढिला हुन पुग्यो । अर्थात, २०७७ फागुनसम्म आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । त्यसपछि, कोरोना महामारीका कारण निर्माणको कामले गति लिन नसक्दा समय लम्बिएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । आयोजनाकाे विकासकर्ता पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो ।
आउँदो असोज अर्थात दसैंसम्म आयोजना सम्पन्न गरी व्यावसायिक रुपमा बिजुली बाल्ने लक्ष्य रहेको उनले सुनाए । पुनः डिजाइन सम्पन्न गरी तिव्रताका साथ आयोजनाको काम अघि बढाएको उनले जानकारी गराए । ‘आउँदो वर्षायामसम्म हेडबक्सको काम सकिँदैन । अर्को ८/९ महिना बाढीका कारणले लम्बिने देखिन्छ’ उनले भने, ‘आउँदो असारमसान्तभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । बाढीका कारणले एक वर्ष ढिला हुन गयो ।’
अहिले आयोजनाको मुख्य सुरुङमार्गको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ । मुख्य सुरुङ निर्माणको काम ४/५ महिनाभित्र सकिने आयोजना पक्षको दाबी छ । २ सय २८ मिटरको भर्टिकल सुरुङको ‘ब्रेक थु्र’ भइसकेको छ । ५० मिटरको कर्भ साफ्ट पनि सम्पन्न भएको छ । त्यस्तै, हेडरेस सुरुङमार्गतर्फ ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
हालसम्म आयोजनाको समग्र प्रगति ७० प्रतिशत पुगेको छ । यो आयोजना जमिनभित्रै सुरुङमार्ग बनाएर बिजुली उत्पादन गरिनेछ । आयोजना स्थलसम्म पुग्ने बाटो, क्याम्प हाउसलगायत अन्य सिभिलतर्फका काम सम्पन्न भएका छन् । २०७१ मा आयोजनाले निर्माणको अनुमति पाएको थियो । ३ वर्षमा सम्पन्न गर्नुपर्ने लक्ष्य लिए पनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिन पुग्यो ।
कुल ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ लगानी छ । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी भएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ ।
आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन् । आयोजना निर्माण गर्न बाँध, सुरुङ र विद्युतगृह निर्माण गर्न छुट्टाछुट्टै ठेकेदार कम्पनी छन् ।
४९ दशमलव ६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि भई ५४ मेगावाट पुगेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी मध्य मस्र्याङ्दी—भरतपुर प्रसारण लाइनमा जोडिनेछ । अहिले उक्त प्रसारण लाइनको काम पनि धमाधम भइरहेको छ ।
आयोजनालाई थप लगानी जुटाउन कम्पनीले आउँदो असारसम्म ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर (आईपी) निष्कासन गर्ने तयारी गरेको छ । कुल पुँजी २ अर्ब ९२ करोडको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी रहेको गौतमले बताए । निर्देशक गौतमले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिन लागेको जानकारी दिए ।
मस्र्याङदी करिडोरमा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन् । दोर्दीमा मात्रै ४ वटा आयोजना निर्माणाधीन छन् । तीमध्ये २७ मेगावाटको दोर्दी र २५ मेगावाटको दोर्दीखोला ए आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।