काठमाडौं । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत काम सकिएको छ । विमानस्थलको वित्तीय प्रगति ५० प्रतिशत रहेको छ । विमास्थलको काम अब ३० प्रतिशत मात्र रहेको छ ।
विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले निर्धारित मिति सन् २०२१ जुन १० भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार आयोजनाको ‘ल्याण्डसाइड’तर्फ २ हजार ५०० मिटर रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।
त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन तथा फिनिसिङ भइरहेको र विदेशी कामदार आएलगत्तै उपकरण जडानको काम शुरु हुने उनले जानकारी दिए ।
विमानस्थल नजिकको रिठेपानी डाँडा कटान, हालको ल्याण्डफिल्ड साइट स्थानान्तरण, आयल निगमको इन्धन डिपोको व्यवस्थापनलगायतका केही समस्या अझै पनि हट्न नसकेका तर्फ आयोजना प्रमुख मुनंकर्मीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन भ्रमणका लागि पोखरा आएको बताए । उनले पोखरा विमानस्थल यथाशक्य छिटो सञ्चालमा ल्याउने सरकारको योजना रहेको जानकारी गराए ।
हालसम्मको कामको प्रगति तुलनात्मक रुपमा उत्साहजन रहेको बताउँदै उनले निर्धारित समयभित्र सम्पन्न गर्ने योजना रहे पनि धेरै विलम्ब नहोस् भनेर सचेत रहेको उल्लेख गरे । सरकार भैरहवा र पोखरा विमानस्थलाई छिटो सञ्चालन गर्न सकियोस् भनेर केन्द्रीकृत रुपमा लागको मन्त्री ढकालले जानकारी दिए ।