काठमाडौं । लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिँदै आएको नेपाल टेलिकमको नाफा ओरालो लाग्न थालेको छ । टेलिकमको आम्दानी घटेपछि यसको असर नाफामा पर्न थालेको हो । आम्दानी घटेपछि कम्पनीले सेयरधनीलाई दिने लाभांशदर पनि कम हुँदै गएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
ह्वाट्स एप, भाइबर, फेसबुक, इमो, ट्वीटर सामाजिक सञ्जालको प्रभावकारिता बढेपछि पछिल्लो समयमा आम्दानी खुम्चिँदै गएको टेलिकमको भनाइ छ । सामाजिक सञ्जालहरूले भिडियो कल, भ्वाइसकल सेवा दिएका कारण मोबाइलबाट फोन गर्नेको संख्यामा कमी आएको छ । भ्वाइसकलका लागि सामाजिक सञ्जालहरू नै अहिले सहज बन्दै गएका छन् ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा टेलिकमको आम्दानी करिब ५० करोड रुपैयाँले घटेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासमा टेलिकमको आम्दानी १० अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको आम्दानी १० अर्ब ६० करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको टेलिकमको चालू आर्थिक वर्षको असोजसम्म आइपुग्दा नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । पहिलो त्रैमासमा मात्रै टेलिकमको नाफा १ अर्ब २ करोड ९० लाख रुपैयाँले खुम्चिएका कारण यो वर्ष पनि टेलिकमको नाफा बढ्ने संभावना कम छ ।
आर्थिक वर्ष २०७६/०७७ मा टेलिकमको नाफा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । सो अवधिमा टेलिकमको आम्दानीको ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिने लाभांश भने घोषणा भएको छैन । छिट्टै घोषणा गर्ने जानकारी टेलिकमले दिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा टेलिकमको नाफा ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ थियो । सो वर्ष टेलिकमको आम्दानी ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो । सो नाफाबाट टेलिकमले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा नेपाल टेलिकमको नाफा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ थियो । सो समयमा टेलिकमको आम्दानी ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ रहेको थियो । सो वर्ष टेलिकमले सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७३/०७४ मा टेलिकमको नाफा १५ अर्ब ३७ करोड २७ लाख रुपैयाँ रहेको थियो । सो समयमा टेलिकमको आम्दानी ४४ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यो वर्ष टेलिकमले ५५ प्रतिशत लाभांश दिएको थियो ।
५ वर्षयताको तथ्यांक हेर्दा टेलिकमले सबैभन्दा धेरै आम्दानी आर्थिक वर्ष २०७४/०७५ मा गरेको छ । सो समयमा टेलिकमको आम्दानी ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ छ । ५ वर्षको अवधिमा टेलिकमले सबैभन्दा कम आम्दानी आर्थिक वर्ष २०७६/०७७ मा गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा टेलिकमको आम्दानी ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
टेलिकमले सबैभन्दा धेरै नाफा आर्जन आर्थिक वर्ष २०७४/०७५ मा गरेको छ । टेलिकमको नाफा सो आार्थिक वर्षमा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ थियो । टेलिकमले सबैभन्दा कम नाफा ०७६०७७ मा हो । उक्त आर्थिक वर्षमा टेलिकमको नाफा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यसबीचमा टेलिकमको नाफा झण्डै ६ अर्ब रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल टेलिकम चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको सेयर मूल्य बढेर बजार पुँजीकरण १ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । टेलिकममा सबैभन्दा बढी लगानी सरकारको छ । जसअनुसार ९१.४९ प्रतिशत सरकार, ८.४८ प्रतिशत सर्वसाधारण र ०.०३ प्रतिशत नागरिक लगानी कोषको स्वामित्व छ ।
पछिल्लो समय भ्वाइस कल गर्न रिचार्ज गरेर मात्रै मिल्छ भन्ने अनिवार्यता नै ओझेलमा पर्न थालेको छ । बढ्दो डिजिटलाइजसन तथा प्रविधिको पहुँच नै टेलिकमको आम्दानी न्यून गराउने कारण हुनसक्छ । यद्यपि यस विषयमा टेलिकमले सोचेको देखिँदैन । वित्तीय विवरणले टेलिकमको अवस्था विस्तारै जनकपुर चुरोट कारखानको जस्तो हुने हो कि भन्ने सर्वसाधारणको अनुमानलाई केही बल पुगेको छ ।
विगतका दिनमा लोकल तथा अन्तर्राष्ट्रिय कल गर्न टेलिफोनकै प्रयोग गर्नुपथ्र्यो । त्यतिबेला टेलिफोन कलको पनि बेग्लै आकर्षण थियो । तर, अहिले अवस्था त्यस्तो छैन ।
भ्वाइसकल कम हुँदा आम्दानी घट्दो: प्रवक्ता जोशी
टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार कम्पनीको आम्दानी तथा नाफा घट्नुमा पछिल्लो समय भ्वाइस कलका ग्राहकहरू कम भएकाले हो । विगतको तुलनामा अहिले अन्तर्राष्ट्रिय कल निकै कम भएको छ ।
‘पछिल्लो समय अन्तर्राष्ट्रिय कल गर्ने ग्राहक घटेका छन् । अहिले स्मार्ट फोन र इन्टरनेटबाटै देश विदेशमा कल गर्न सम्भव भएपछि ग्राहकहरुमा कमी आएको हो । अहिले त कोरोना महामारीले वैदेशिक रूपमा गरिने कल निकै नै कम भयो । रोमिङको बिजनेस कोरोना महामारी पहिलेको तुलनामा अहिले २० प्रतिशतले घट्यो । लकडाउन सबैजना घर बस्दा व्यावसायिक कल घट्यो । अत्यावश्यकभन्दा बाहेकका सेवा नचल्दा, हाम्रोमा पनि कल भएका थिएनन् ।
तर, डाटाको व्यवसाय भने बढेको छ । तर, भ्वाइसमा जस्तो डाटाबाट कम्पनीलाई फाइदा छैन । सामानहरू आएर हाम्रो स्टोरमा आएर जम्मा भइसकेको अवस्थामा हामीले फिल्डमा जडान गर्न पाएका छैनांै । त्यसले हाम्रो नाफामा असर पार्याे ।
यसैगरी कोरोना महामारीले असर गरेको भन्दा बाहेकका वर्षहरूको कुरा गर्ने हो भने भ्वाइस कल विश्वव्यापी रूपमा नै घट्दो क्रममा छ । हामीले बाहिर देशका टेलिकम्युनिकेसनका अपरेटरहरूसँग कुरा गर्दा त्यता पनि २० देखि ८० प्रतिशतले भ्वाइस व्यवसाय घट्दो छ । त्यसको मुख्य कारण भनेकै अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा नै हो ।
सरकारको नीतिलाई टेलिकमले मान्दै आएको छ । अब हरेक स्थानीय तहमा हामीले दूरसञ्चार सेवालाई पुर्याउनुपर्छ भनेर कार्य योजना बनाइरहेका छौं ।
हाम्रो आगामी रणनीतिको कुरा गर्दा हामीले नेपालको अहिलेको अवस्थालाई मूल्यांकन गर्न आवश्यक हुन्छ । अहिले नेपालमा टेलिकम्युनिकेसनसँग सम्बन्धित धेरै प्रकारको सेवा सञ्चालनमा छन् । तर, केही ठाउँमा भने अहिले कल पनि नलाग्ने अवस्था पनि छ ।
हामीले ७७ जिल्लाका हरेक ठाउँमा दूरसञ्चार सेवाको बिस्तार गर्न लागि परेका छौं । सो लक्ष्य पुर्याउनु नेपाल टेलिकमको दायित्व हो । टेलिकमले सधैं नाफा नोक्सान मात्र हेर्नेभन्दा पनि आफ्नो दायित्व पूरा गर्नका लागि पनि काम गर्नुपर्छ । हामीले सोहीअनुसार आगामी कार्य योजना तयार गर्दैछौं ।
केही समयअघि लकडाउनले रोकेको काम टेलिकमले अहिले सक्रियतासाथ गरिरहेको छ । सरकारको नीति तथा टेलिकमको कार्ययोजनाअनुसार अहिले काम भई रहेको छ ।’