काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढी भएको बताउँदै मर्जर र प्राप्ति प्रक्रियामा जान दबाब दिएका बेला भने बिमा कम्पनीबीच मर्जरको कुरा सेलाएको छ । मर्जरमा जान दबाब दिने नियामक बिमा समिति नै अहिले मौन छ । समिति मौन भएपछि मर्जरमा जाने प्रक्रिया रोकिएको हो ।
समितिले पुँजीगत आधार बलियो बनाउन र मर्जरमा जानका लागि जीवन बिमा कम्पनीहरूले न्यूनतम २ अर्ब तथा निर्जीवन बिमा कम्पनीहरूले १ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशनसमेत जारी गरेको थियो ।
बिमा समितिले चुक्तापुँजी पुर्याउन बिमा कम्पनीहरूलाई २०७३ साल माघ १३ गते निर्देशन दिएको थियो । सो निर्देशनअनुसार कम्पनीहरूले २०७५ साल असार मसान्तभित्र चुक्तापुँजी पुर्याउनु पर्ने थियो । सो समयमा चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीहरूलाई समितिले २०७५ पुस मसान्तसम्म समय थप गरेको थियो ।
तर, २०७५ पुस मसान्तसम्म पनि बिमा कम्पनीहरूले चुक्तापुँजी पुर्याउन सकेनन् । पुस मसान्तबाट भने बिमा समितिले प्रत्यक्ष्य रूपमा निर्देशन दिएन । सो अवधिमा समितिले २०७६ असार मसान्तसम्मका लागि ग्रेस अवधि तोेकेको थियो ।
बिमा समितिले कम्पनीहरूलाई मर्जरमा जान बाटो खुला गरेको भन्दै उक्त निर्देशनको निकै चर्चासमेत भएको थियो । तर, अहिले नियामक समितिले कम्पनीहरूले चाहेको अवस्थामा मर्जरमा जान सक्ने भन्दै पछि हटेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल मर्जरको विषयमा कम्पनीहरूलाई सहजीकरण गरिसकेकाले अब उनीहरूले आवश्यक मानेमा जाने सक्ने बताउँछन् ।
‘कम्पनीले चाहेको अवस्थामा मर्जरमा जान सक्ने व्यवस्था हामीले गरेका छौं, मर्जरका लागि कम्पनीलाई कुनै रोकतोक छैन,’ पौडेलले क्यापिटल नेपालसँग भने । उनले मर्जरमा जानलाई कम्पनीहरूलाई दबाब नदिने स्पष्टपारे ।
पुराना सबै कम्पनीहरूले न्यूनतम पुँजी पर्याइसकेका छन् । यस्तै नयाँ कम्पनीहरूले धमाधम प्राथमिक सेयर (आईपीओ) जारी गर्दै समितिले तोकेको चुक्तापुँजी पुर्याउन लागेका छन् । हाल जीवन बिमा व्यवसाय गर्ने १९, निर्जीवन २० र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् ।
जीवन बिमा कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ र आईएमई लाइफ, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्यूनतम पुँजी पुगेको छैन ।
यी कम्पनीहरूले आईपीओ निष्कासन गरेर पुँजी पुर्याउने तयारी गरेका छन् । नयाँ आएकामध्ये रिलायन्स लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गरेर न्यूनतम पुँजी पुर्याइसकेका छन् ।
निर्जीवनतर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्कासन गरेर न्यूनतम पुँजी १ अर्ब रुपैयाँ पुर्याएका छन् ।
यसाे भन्छन्, बिमा कम्पनीका सीईओहरू
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईका अनुसार अहिले बिमा कम्पनीहरूले मर्जरमा जानु आवश्यक नठानेका कारण मर्जरलाई प्राथमिकतामा नराखेका हुन् । अहिले बिमा कम्पनीहरूले मर्जरलाई त्यति आवश्यक ठानेका छैनन्, केही समयअघि समितिले पनि मर्जरसम्बन्धी बाटो खुला गर्नुका साथै सहजीकरण गर्न समिति तयार रहेको बताइएको थियो ।
अहिले अधिकांश नयाँ बिमा कम्पनीहरूले पनि पुँजी पुर्याइसकेका छन् । पुराना कम्पनीहरूको पनि व्यवसाय राम्रै चलिरहेकाले तत्काल मर्ज हुने अवस्था नदेखिएको हुनसक्छ । अबको केही वर्षमा बिमा कम्पनीहरूले आफ्नो योजना अनुरूप काम गर्दै जाँदा मर्जर आवश्यक भएमा एक हुन सक्ने अवस्था आउने उनको भनाई छ । उनले प्राइम लाइफ मर्जरका लागि अन्य कम्पनी खोज्दै नजाने तर कुनै कम्पनी आफूहरूसँग गाभिन चाहेमा भने मर्जरका लागि तयार रहेको जानकारी दिएका छन् ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ चंकी क्षेत्री राम्रै व्यवसाय गरिरहेको कम्पनी पाएमा आफूहरू मर्जरमा जान तयार रहेको बताउँछन् । ‘अर्को राम्रो कम्पनी पाएमा सगरमाथा पनि मर्जरमा जान तयार छ । तर मर्जरमा जानु भनेको सिनर्जी पाउनका लागि हो, सोही कारण वित्तीय सूचांक तथा व्यवसायको अवस्था स्वस्थ रहेको कम्पनीले चाह्यो भने मात्रै सगरमाथा पनि मर्ज हुने सम्भावना छ । अहिले तत्काल त्यस्तो हुने केही छाँटकाँट छैन’, क्षेत्रीले भने ।
यस्तै, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री पुँजी पुगेकै कारण नै नयाँ बिमा कम्पनीहरू मर्जरमा नगएको बताउँछन् । ‘मर्जरमा जान आवश्यक भनेको त नयाँ कम्पनीहरूलाई नै थियो । चुक्तापुँजी नपुगेको अवस्थामा नयाँ बिमा कम्पनीहरू मर्जर जान आवश्य थियो । तर, अहिले कम्पनीहरूलाई जानै पर्ने अवस्था नभएकाले बिमा मर्जर सेलाएको हुनसक्छ । समितिले मर्जरका लागि बाध्यकारी व्यवस्था ल्याएको अवस्थामा कम्पनीहरू मर्जरमा जाने सम्भावना छ,’ उनले भने ।
जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस के टमोटका अनुसार अहिले बिमा कम्पनीहरूले मर्जरको विषयमा छलफल गरेका छैनन् । ‘अहिले बिमा कम्पनीहरूले मर्जरका बारेमा कुरा नै सुरु गरेका छैनन् । अहिले कम्पनीहरूलाई मर्जर आवश्यक नभएकाले नै हुनुसक्छ, नयाँ मर्जरको अब आवश्यकता छैन, तर मर्जरको हल्ला सकिए पनि बिमा कम्पनीहरू मर्जमा भने जानुपर्ने हुनसक्छ’, जनरलका महाप्रबन्धक टमोटले भने ।
युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमारलाल कर्णका अनुसार मर्जर बिमा कम्पनीहरूका लागि पहिले आवश्यकता नै बनेको भए पनि अहिले सिनारियो परिवर्तन भएको छ ।
‘पहिला कम्पनीहरू मर्जरमा जानुपर्छ भन्ने कुरा खुबै चलेको थियो । समितिले पनि उनीहरुलाई मर्जरमा जान बाटो खुला गरेको थियो । त्यति बेलामा अधिकाँशको चुक्तापुँजी पुगेको थिएन । अहिले चुक्तापुँजी पुगिसकेको र मर्जमा जान अरू थप आवश्यकता नभएको बताएका छन्’, कर्णले भने ।
समितिले मर्जरमा जान कम्पनीहरूलाई पुँजीवृद्धिको योजना माग गरेको थियो । सो योजना बुझाउने क्रममा बिमा कम्पनीहरूले हकप्रद तथा बोनस सेयरमार्फत पुँजी पुर्याउने प्रस्ताव पेस गरेको समितिले जनाएको छ ।मर्जर निर्देशन जारी गर्ने बेलामा सक्रियता देखाएको समितिले त्यसपश्चात मर्जरको विषयमा मौन छ ।
मर्जरमा जान निर्देशन दिनुको कारण
समितिले कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिनुमा केही विशेष कारणहरू छन् । कम्पनीहरू विभिन्न प्रयत्न गर्दा पनि पुँजीवृद्धि गर्न सकेका थिएनन् । संस्थापकहरूले पनि लगानी गर्न नसक्ने तथा नाफाबाट पनि हाल्न नसक्ने अवस्था थियो ।
बिमा ऐनबमोजिम कम्पनीहरूले आफ्नो कोषमा पैसासमेत राख्न सकेका थिएनन् । बिमा क्षेत्रमा कर्मचारीहरूको तानातानको स्थिति थियो । एक कम्पनीबाट कर्मचारीहरू अर्को कम्पनीमा जानेक्रम पनि बढ्दो थियो ।
एउटै समूहमा रहेका कम्पनीहरूले निर्देशिका बमोजिम १५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । त्यसरी एउटै गु्रपले धेरै ठाउँमा लगानी गर्ने अवस्थाको अन्त्य गर्न बिमा मर्जर ल्याइएको हो
एउटै समूहले नै विभिन्न कम्पनीमा लगानी गर्दा वित्तीय स्वार्थ बाझिने, अस्वस्थ प्रतिस्पर्धा हुने, व्यवसायमा साठगाँठ गरेर दाबी भुक्तानी सेटलमेन्ट गर्ने सम्भावना धेरै थियो । मर्जर गर्दा पुँजीवृद्धि हुने र बिमा कम्पनीहरूको वित्तीय स्वार्थ कम हुने समितिको अनुमान थियो ।
मर्जरको आवश्यकता छ कि छैन ? कम्पनी ऐनले तोकेको व्यवस्थाअनुसार सुशासन कायम गर्ने किसिमले मर्जरमा जान मिल्छ । कम्पनीको व्यवस्था राम्रो हुन्छ भने मर्जर गर्नु राम्रो कुरा हो ।
मर्जरबाट बिमा कम्पनीहरूको पुँजी सँगसँगै अन्डरराइटिङ क्षमतामा समेत वृद्धि हुन्छ । बिमामा पुँजी अनुुसारको अन्डरराइटिङ हुन्छ ।
मर्जर भनेको बिमा कम्पनीहरू एक आपसमा गाभिने र कम्पनीबीच एकता कायम गर्ने हो । यसो गर्दा दुवैको पुँजी जोगाउन मद्दत पुग्ने भएकाले कम्पनीहरु मर्जरमा जान सक्ने बिमा क्षेत्रका जानकारहरूले आँकलन गरेका छन् ।
सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीहरूको भने चुक्तापुँजी पुगेको छैन । जीवन बिमा कम्पनीहरूभन्दा निर्जीवन बिमा कम्पनीहरू मर्जरमा जान सक्ने सम्भावना धेरै छ । निर्जीवन बिमा कम्पनीहरूको संख्यात्मक हिसाबले व्यवसायको वृद्धि कम रहेको छ ।