काठमाडौं । सरकारले मेलम्चीको पानी आगामी माघ पहिलो हप्तासम्म सुन्दरीजलमा लक्ष्य लिएको छ । सुरुङमार्गमा पानी परीक्षणका क्रममा भत्किएको टनेलको गेट फेरेर ढिलोमा मंसिर दोस्रो सातासम्म पानी परीक्षण गरी माघको पहिलो हप्ताभित्र सुन्दरीजलमा पानी झार्ने लक्ष्य लिइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
अहिले मेलम्चीको पानी पुनः परीक्षण गर्ने गरी अडिट टनेल जडान र सुरुङमार्ग फिनिसिङको काम तीव्र रुपमा अघि बढेको उनले बताए ।
सुरुङमार्गमा यसअघि फुस्किएको अडिट टनेल फेर्न नयाँ गेट ‘फ्रेम’ आइसकेको उनले बताए ।
दुइओटा अडिट टनेलको गेट फेरिएको छ । बाँकी दुईओटा टनेलको गेट जडान केही दिन भित्रमा सम्पन्न हुने उनले बताए ।
‘अहिले भत्केको अडिट टनेल गेटको फ्रेम आइसकेको छ । दुईओटा ब्लक गेट फ्रेम फेरिसकियो’ श्रेष्ठ भने, ‘बाँकी गेट जडान केही दिन भित्र भइसक्छ । मोटामोटी हेर्दा मंसिर दोस्रो सातासम्म सुरुङमार्गमा पानी हाल्ने र माघ पहिलो हप्ता सुन्दरीजलमा पानी झार्ने हाम्रो योजना छ ।’
मेलम्ची खानेपानीको ढिलाईप्रति अर्थमन्त्री बिष्णु पौडेलले पनि चासो दिएका छन् । बुधबार खानेपानी मन्त्रालयका प्रतिनिधीहरुसँग छलफल गर्दै पौडेलले मेलम्चीको काम छिट्टै पूरा गर्न सवैको सहयोग आवश्यक रहेको बताए ।
यसअघि अस्थायी बाँधबाट पानी परीक्षण गर्ने क्रममा १७ नम्बर अडिट टनेलको गेट फुटेपछि पानी परीक्षण कार्य स्थगित भएको थियो । कमजोर डिजाइन र प्राविधिक त्रुटिका कारण टनेल गेट फुटेपछि स्पेनबाट विज्ञ टोली आएर पुनः डिजाइन तथा अध्ययन गरेर काम अघि बढाइएको छ ।
आयोजनाको गेट गम्भीर प्राविधिक त्रुटिका कारण फुस्किएको यसअघिको छानबिन समितिले समेत निष्कर्ष निकालेको थियो ।
त्यतिबेला अस्थायी बाँधबाट पानी परीक्षण गर्दा एउटा अडिट टनेलमा रहेको गेट भत्किदा अन्य ४ वटा अडिट टनेलका गेट काम नलाग्ने भएका थिए ।
सुरुङमार्गबाट पानी हालेर स्थायी रुपमा परीक्षण पूरा गरी सुन्दरीजलमा पानी झार्न दुई महिना लाग्ने देखिन्छ । अन्य प्राविधिक समस्या र त्रुटि नदेखिएमा माघ पहिलो हप्तासम्मको ‘सेड्युल’ मै सुन्दरीजलमा पानी झार्ने लक्ष्य रहेको शाक्यले बताए ।
पानी वितरणका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काम अघि बढाउनेछ । काठमाडौं उपत्यका खानेपानीसँग समन्वय गरी पानी वितरण हुने निर्देशनालय स्रोत बताउँछ ।
सुरुमा पुरानै पाइपलाइनमार्फत परीक्षण गर्दै मर्मत गरी पानी वितरण हुनेछ । केही नयाँ पाइपलाइन र ट्यांकी बनाएर उपत्यकावासीलाई पानी वितरण हुने शाक्यले बताए
मेलम्चीबाट पहिलो चरणमा १७ हजार लिटर पानी सुन्दरीजलमा झर्नेछ । आयोजनाको बाँकी काम पूरा गर्न चिनिँया कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । खासगरी सुरुङमार्ग र हेडवक्र्स लगायतका फिनिसिङको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
यसअघि इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्ट्री(सीएमसी)ले आयोजना छाडेपछि लामो समय आयोजना अलपत्र पर्यो । पछि, चिनियाँ कम्पनीले बाँकी काम १० महिनाभित्र पूरा गर्ने गरी ठेक्का पाएको थियो ।
सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म सुरुङ निर्माणको काम १५ वर्षअघि सुरु भएको थियो । हालसम्म आयोजनाका लागि साढे ३० अर्ब खर्च भइसकेको छ ।