काठमाडौं । कोरोना महामारीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन पछि धकेलिएको छ । आयोजनाको काम अवरुद्ध हुँदा विद्युत् उत्पादन ५ महिना धकेलिने अवस्था आएको हो ।
आयोजनामा जडान हुने केही हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आयात हुन बाँकी छ । यी उपकरण जडान नभएसम्म आयोजनाबाट बिजुली उत्पादन हुँदैन् ।
आयोजना बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले सहायक कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गरिरहेको छ ।
आयोजनाको बाँधको गेटमा जडान हुने उपकरण आउन बाँकी रहेको प्रवद्र्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तम अमात्यले जानकारी दिए ।
सीईओ अमात्यका अनुसार विद्युतगृह र स्वीचयार्डमा जडान हुने केही उपकरण पनि आयात हुन बाँकी छ । आयोजनाको करिब ९३ प्रतिशत काम सकिएको छ । बाँध र विद्युतगृहको काम ८० प्रतिशत सकिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन र सवस्टेशन निर्माण गरेको छैन् ।
वैकल्पिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ को विद्युतगृहभन्दा केही तल १३२ केभी भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जोडिने भएको छ ।आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ऋण लगानी गरेका छन् ।