काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर एसियाले तिर्नुपर्ने बक्यौता नतिरे एयर एसियाको भगिनी संस्था ‘एयर एसिया थाई’लाई नेपाल उडान नदिने भएको छ ।
एयर एसिया वा एयर एसिया थाई जसले बक्यौता तिरे पनि तिरेपछि मात्रै नेपालमा उडान अनुमति दिने क्यानले प्रस्ट्याएको हो ।
‘एयर एसिया थाई’ एयर एसियाको सिस्टर कम्पनी भएको र एयर एसियाको झन्डै १४ करोड रुपैयाँ बक्यौता एयर एसिया थाईले तिरेपछि मात्रै नेपाल उडान दिने क्यानका नित्तिम महानिर्देशक राजन पोखरेलले क्यापिटल नेपाललाई बताए ।
‘एयर एसियाको सिस्टर कम्पनी एयर एसिया थाई हो । आफ्नो प्यारेन्ट कम्पनीले तिर्नुपर्ने रकम नतिरेसम्म क्यानले कुनै हालतमा उडान अनुमति दिँदैनौं,’ पोखरेलले भने, ‘पहिला पुरानो बक्यौता तिरेपछि मात्रै उडान अनुमति दिन्छौं ।’
एयर एसियाले तिर्नुपर्ने बक्यौता कुनै हालतमा एयर एसिया थाईले नतिर्ने अडान लिएपछि विगत ६ महिनादेखि नेपालमा एयर एसिया थाईले उडान भर्न पाएको छैन । सबै प्रक्रिया पूरा गरे पनि बक्यौता कसले तिर्ने भन्ने बारेमा टुङ्गो नलागेपछि उडान गर्न नपाएको क्यान स्रोतले बताएको छ ।
नेपालमा एयर एसिया थाईको जनरल सेल्स एजेन्टको काम विशाल गु्रपले लिएको छ ।
एयर एसिया थाईले ६ महिनाअघि सम्पूर्ण प्रक्रिया पूरा गरेको हो । तर, बक्यौताको विवाद समाधान नभएकाले अहिलेसम्म उडान अनुमति पाएको छैन ।
एयर एसिया थाइमा एयर एसियाको पनि लगानी छ । जसले नेपालमा बक्यौता तिर्न बाँकी छ, त्यसको सिस्टर कम्पनीको जहाज नेपाल आउन लागेपछि बक्यौता तिर्नुपर्ने दायित्व स्वतः सोही कम्पनीमा जाने पोखरेल बताउँछन् ।
एयर एसियाले सरकारलाई अझै १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । बक्यौता बाँकी रहँदै एयर एसियाले नेपाल उडान बन्द गरेको थियो । एयर एसिया मलेसियाले बक्यौता रकम आफैंले तिर्ने सहमति गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले एयर एसियाको जहाज नेपालबाट जान दिएको थियो । नेपालस्थित मलेसियाको दूतावासले मध्यस्थता गरेपछि एयर एसियाले बक्यौता रकम नतिरी नेपाल छाडेको थियो । एयर एसिया बन्द भएपछि एयर एसिया थाई नेपाल ल्याउने पहल भएको हो ।
क्यानकै उच्च अधिकारीका अनुसार एयर एसियाको बक्यौता एयर एसिया थाईले तिर्न नपर्ने बताउँछन् । नेपालमा जेट एयरवेजले ठूलो मात्रामा बक्यौता तिर्न बाँकी छ । जेट एयरवेजमा २५ प्रतिशत लगानी इतिहादको पनि छ । तर, जेट एयरवेजले तिर्न बाँकी रहेको रकम इतिहादले के तिरेको छ र ? क्यानकै अधिकारीले प्रश्न गरेका छन् । एयर एसिया र एयर एसिया थाईको अस्तित्व र व्यवस्थापन फरकफरक भएकाले एयर एसियाको दायित्व एयर एसिया थाईको नपर्ने तर्क विशाल गु्रपले प्राधिकरणलाई बुझाएको क्यान स्रोतले जानकारी दियो ।