काठमाडौं । देशैभर चिसो बढ्न थालेपछि बिजुलीको माग बढ्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, चिसोको मौसम सुरु भएसँगै विद्युतीय उपकरण प्रयोग हुन थालेपछि बिजुलीको माग बढेको हो ।
‘अहिले लोड क्रममा बढ्दै गइरहेको छ । दसैंको अघिल्ला ७ दिन बिजुलीको लोड घट्यो’ विद्युत प्रणाली सञ्चालन विभागका प्रवन्धक सुरेश भट्टराईले भने, ‘दसैंयता अहिले लोड बढ्न सुरु भइसकेको छ ।’
चिसो बढ्न थालेपछि अहिले साँझको पिकपावर र बिहानको समयमा बिजुली खपत बढेको छ । बिहान र बेलुकाको पिकपावरका लागि अपुग बिजुली भारतबाट आयात गरी पूर्ति गरिएको भट्टराईले बताए । गत वर्ष अहिलेकै समयमा काठमाडौ उपत्यकामा बिजुली लोड साढे ४ सय मेगावाटसम्म पुगेको थियो ।
तर, यसपालि भने त्यति धेरै बिजुली माग नहुने भट्टराई बताउँछन् । कोरोना भाइरस महामारीका कारणले होटल, रेस्टुराँ, बार, कारखाना, व्यापारिक कम्प्लेक्सहरू पूर्ण सञ्चालनमा आउन नसक्दा पनि बिजुलीको खपत बढ्न सकेको छैन । ती क्षेत्रमा बिजुली खपतमा कमी आउँदा बिजुलीको माग गत वर्षको जति नहुने उनी बताउँछन् ।
काठमाडौं उपत्यकामा चिसो बढ्दा लोड ह्वात्तै बढ्ने भए पनि उता तराई क्षेत्रमा भने लोड घट्ने गरेको भट्टराई बताउँछन् । यता, नेपालीको दोस्रो महान पर्व तिहारका बेला पनि त्यति बढी लोड कमी हुने गर्छ ।
गत कात्तिक १० गते दसैंका दिन र शनिबार दिन बिजुलीको लोड घटेको थियो । दसैं पछि भने बिस्तारै बढेको छ । गत कात्तिक ८ गते देशैभर बिजुलीको लोड १०९७ मेगावाट लोड खपत भएकोमा ९ गते १०३० मेगावाटमा झर्यो । कात्तिक १० गते दसैंको दिन बिजुलीको लोड घटेर ९४१ मेगावाटमा झर्यो ।
दसैंका दिन भारतबाट पनि बिजुली आयात गर्नु नपरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन् । कात्तिक ११ गते बिजुलीको लोड केही बढेर १०३४ मेगावाट, १२ गते ११२४ मेगावाट, १३ गते ११९१ मेगावाट र १४ गते बिजुलीको लोड अझै बढेर १२२९ मेगावाट पुग्यो । कात्तिक १५ गते शनिबार परेकाले लोड केही घट्दा ११७२ मेगावाट लोड खपत भएको प्राधिकरणले जनाएको छ ।
यता, दसैंपछि काठमाडौं उपत्यकामा पनि बिजुलीको लोड बढेको देखिन्छ । कात्तिक १० गते दसैंको दिन १९५ मेगावाट लोड खपत भएकोमा ११ गते बढेर २०९ मेगावाट पुग्यो ।
कात्तिक १२ गते २२४ मेगावाट, १३ गते २२६ मेगावाट, १४ गते २४७ मेगावाट र १५ गते २४१ मेगावाट बिजुली काठमाडौं उपत्यकामा खपत भएको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकामा बिजुलीको लोड औसत ३२० देखि ३५० मेगावाट हाराहारी हुने गरेको छ ।
उपत्यका र देशैभर चिसो बढेकाले बिजुली लोड अझै बढ्ने प्राधिकरणले जनाएको छ । तर, गत वर्ष जस्तो बिजुलीको माग भने नबढ्ने तिम्सिना बताउँछन् ।