काठमाडौं । कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड २ महिनामा सञ्चालनमा आउने भएको छ । प्रसारण लाइनको ९५ प्रतिशत निर्माण पूरा भइसकेको छ । आउँदो पुस दोस्रो साताभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।
निर्माण अन्तिम चरणमा पुगेको आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार प्रसारण लाइनको ३२६ मध्ये ३१८ वटा टावर उठाउने काम सम्पन्न भइसकेको छ ।अब ८ वटा टावर मात्रै ठड्याउन बाँकी रहेको उनले जानकारी गराए ।
प्रसारण लाइनको ढुङ्गेसाँघु–बसन्तपुर खण्ड करिब ६० प्रतिशत सकिएको छ । ३५ किलोमिटर लामो यस खण्डमा कोरोना महामारीको बढी असर परेको उनले बताए ।
संखुवासभाको बानेश्वर, तेह्रथुमको वसन्तपुर र सुनसरीको इनरुवामा २२० १३२ ३३ केभी क्षमताका ३ वटा सबस्टेसन निर्माणाधीन अवस्थामा छन् ।
भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी कोरिडोर प्रसारण लाइन निर्माण भइरहेको हो । प्रसारण लाइन नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो ।
प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।
प्रसारण लाइन निर्माणको काम २०७४ कात्तिकबाट प्रसारण लाइन निर्माणको काम सुरु गरिएको थियो । तुम्लिङटार–इनरुवा खण्ड १०५ किलोमिटर लामो छ । ढुङ्गेसाँघु–बसन्तपुर खण्ड ३५ किलोमिटर लामो छ ।
प्रसारण लाइन निर्माण हुँदा यो लाइन मार्फत २ हजार मेगावाट विद्युत प्रणालीमा जोड्न सकिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ९ अर्ब ७२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।