काठमाडौं । जयनगर देखि कुर्था खण्डमा रेल चलाउन अझै दुई महिना लाग्ने भएको छ । भारतबाट रेल नेपाल भित्रिएको डेढ महिना बितिसकेपनि रेल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न समय बढी लाग्ने भएको हो ।
स्थायी नियुक्ति प्रक्रियाबाट आवश्यक कर्मचारी व्यवस्थापन गर्न पनि समय लाग्ने भएको हो । यसअघि अस्थायी करारमा कर्मचारी भर्ना गर्ने भनेर मन्त्रिपरिषद्बाट स्वीकृति लिए पनि लोकसेवा आयोगले हस्तक्षेप गरी स्थायी प्रक्रियाबाट नै कर्मचारी नियुक्ति लिन भन्यो ।
ठूलो संख्यामा करारमा कर्मचारी भर्ना लिँदा पछि गएर समस्या हुन सक्ने भन्दै लोकसेवा आयोगले कर्मचारी स्थायी नियुक्ति गर्न प्रक्रिया अघि बढाएको छ । यसअघिको करारमा कर्मचारी भर्ना प्रक्रिया ‘क्यान्सिल’ भइसकेको छ ।
स्थायी नियुक्ति गर्दा रेल चलाउन ढिला हुन सक्ने भएपनि रेल्वे कम्पनीले निजामती सेवामा कार्यरत कर्मचारी मागिसकेको छ । रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराई रेल छिट्टै ग कर्मचारीको स्थायी पदपूर्ति नहुन्जेलसम्मका लागि ‘काज’ मा कर्मचारी ल्याएर रेल चलाइहाल्ने बताउँछन् ।
उनले छिट्टै स्थायी नियुक्तिको लागि विज्ञापन र सरकारले कर्मचारीलाई ‘काज’मा खटाउने बारेमा निर्णय गर्ने बताए ।
रेल छिट्टै चलाउन काजमा नै कर्मचारी खटाउनुपर्ने भट्टराई बताउँछन् । उनले १७२ जना कर्मचारी ‘काज’ मा उपलव्ध गराउन परिपत्र गरेको बताए ।
उनले दुईमहिना भित्र ‘काज’मा कर्मचारी खटाएर भएपनि रेल चलाउने बताए । ‘प्रधानमन्त्री ज्यूले पनि रेल चलाउन ढिलो नगरौं भन्नुभएको छ । स्थायी रुपमा कर्मचारी पदपूर्ति नहुँन्जेल ‘काज’ कर्मचारी ल्याएर रेल चलाउछौं’उनले भने, ‘दुईमहिनाभित्र त रेल चल्छ ।’
गत असोज २ गते भारतको हाजिपुर हुँदै जनकपुर रेल स्टेशनसम्म आइपुगेको रेल कर्मचारी अभावमा इनरुवा रेल स्टेशनमा थन्किएको छ ।
रेल ल्याउने बखत मोटामोटी एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरी रेल चलाइसक्ने रेल विभाग र कम्पनीका अधिकारीहरूले बताएका थिए ।
रेल्वे कम्पनीले करारमा १ सय २९ पदका लागि कर्मचारी मागेकोमा ३२ हजार बढीले आवेदन दिएका थिए । तर, स्थायी प्रक्रियाबाट कर्मचारी नियुक्ति गर्नुपर्दा चाडपर्व र कोरोना महामारीले कर्मचारी भर्ना प्रक्रिया अझै लम्बिने सरकारी अधिकारीहरू नै बताउँछन् ।
करारमै कर्मचारी भर्ना प्रक्रिया अघि बढेको भए केही छिटो रेल चल्ने अवस्था रहेको रेल विभागका पूर्वमहानिर्देशक बलराम मिश्र बताउँछन् । तर, स्थायी कर्मचारी भर्ना लिँदा अहिलेकै अवस्थामा ६ महिना लाग्ने उनी बताउँछन् । ‘करारमा कर्मचारी भर्नामा लोकसेवाले हस्तक्षेप गर्दा थप अन्योल हुन गयो । अब स्थायी नियुक्ति प्रक्रिया पूरा गर्दा ६ महिना लाग्छ । त्यसअघि रेल चल्ने सम्भावना मैले देख्दिन् ।’
यसअघि सरकारले २६ जना कर्मचारी भारतबाट करारमा ‘हायर’ गर्न स्वीकृति समेत दिइसकेको छ । तर, भारतबाट ल्याइने कर्मचारीको स्थायी नियुक्ति गर्न मिल्दैन । करारमै ल्याउने कि के गर्ने भन्ने विषयमा अन्योल देखिएको छ ।
महाप्रवन्धक भट्टराईले भने भारतबाट ल्याइने कर्मचारीमा कुनै समस्या नहुने बताउँछन् । ‘भारतबाट आउने कर्मचारी त आइहाल्छन् । समस्या हुँदैन’ उनले भने, ‘नेपालमै नियुक्ति गर्ने कर्मचारीलाई स्थायी नै गरौं भन्ने हो ।’
भारतको सरकारी रेल्वे कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग नेपालको आफ्नै स्वामित्वको रेल खरिद गरिएको थियो । ६९ किलोमिटर लामो जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमीमा उक्त रेल चल्नेछ ।
झन्डै १ अर्ब रुपैयाँमा खरिद गरिएको ५ डिब्बासहितको डेमो रेल सञ्चालन गर्न आवश्यक पूर्व तयारी र कर्मचारी भर्नामा सरकारले ध्यान नदिँदा रेल नेपाल आएर पनि चल्न सकेको छैन । रेलले एकैपटमा १ हजार ३ सय जनाले मात्र यात्रा गर्न सक्ने क्षमता छ ।