काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँकी रहेका हाइड्रोमेकानिकलका केही उपकरणहरु आपूर्ति भएका छन् । बाँकी उपकरणहरु भारतको कोलाकातामा निर्माण भइरहेका छन् ।
प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले नेपालबाट कर्मचारी पठाइ सोको जानकारी लिएको छ । प्राविधिकहरु कुमार राना र उमेश हमाल ३ साता कोलाकाता बसाइपछि नेपाल फर्किएका छन् ।
यसबीचमा ‘डिस इन्ड’ सामान नेपाल आईपुगेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताएका छन् । अन्य बाँकी केही उकरणहरुको ‘फ्याब्रिकेसन’को काम अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए ।
यो पनि हेर्नुहोस
कोलकातामा रोकिएका उपकरण ल्याउन माथिल्लो तामाकोसीले थाल्यो पहल, आयोजनाले प्राविधिक पठाउँदै
कोरोना भाइरस महामारीले गर्दा उपकरण ल्याउन ढिलाइ भएपछि आयोजना आफैंले प्राविधिक पठाएर कोलकातामा अलपत्र परेका सामान ल्याउन पहल गरेको हो ।कात्तिकभित्र सबै सामान आयात गरेर डिसेम्बरसम्म जडानको काम सकी परीक्षण विद्युत उत्पादन थाल्ने आयोजनाको तयारी छ ।
भारतको टेक्सम्याको लिमिटेडले उत्पादन गरेको हाइड्रोमेकानिकल उपकरणहरु एक्सपान्सन ज्वाइन्ट, डिसम्यान्टेवल वक्स र अपर साफ्टको अपर वेन्ट आउन बाँकी छ ।आयोजनाको गोंगरदेखि न्युखिम्तीसम्म २२० केभी प्रसारण लाइन तथा सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले आगामी असारदेखि ऋणको किस्ता तिर्न गर्ने लक्ष्य लिएको छ । ढिलोमा आउँदो चैतसम्म आयोजनाबाट बिजुली उत्पादन भई २०७८ को असारदेखि नियमित रूपमा किस्ता तिर्ने गरी कर्जाको पुनर्तालिकीकरण भएको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले किस्ताको समय ४८ बाट बढाएर ६० किस्ता अर्थात ५ वर्ष पुर्याएको छ ।
आयोजनाको प्रवद्र्धक अपर तामाकोसीले सञ्चालनमा आएको पहिलो वर्षमा नेपाल विद्युत प्राधिकरणलाई बिजुली बिक्री गरी ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ ।
आयोजनाको काम लगभग सकिएको छ । आयोजनाको लागत बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको कुल लागत ७५ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान कोषको छ ।
कोरोना भाइरस महामारीले आयोजनाको काम प्रभावित भएको छ । असारसम्म तामाकोसीको पहिलो युनिट सञ्चालन गर्ने तयारी भएकोमा कोरोना महामारीले अवरुद्ध हुन पुगेको छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि पनि बढाएको छ ।