काठमाडौं । निजी लगानीमा प्रस्तावित ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । झ्यामोलोङ्मा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण सुरु गरेको हो ।
आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका पर्छ । आयोजना निर्माण सरु भएको कम्पनीका प्रबन्ध निर्देशक रोशन केसीले बताए ।
सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिलक ठेकेदार कम्पनी छनोट प्रक्रिया पूरा भइसकेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का एन्ड्रिज हाइड्रो जीएमबीले पाएको छ । सबै लटका ठेक्काको काम सकिएकाले आयोजना निर्माणले गति लिने विश्वास कम्पनीको छ ।
हाल आयोजना स्थलसम्म पुग्ने पहुँच सडक (एक्सेस रोड) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा अधिकग्रहण पनि सकिएको केसीले बताए । जिम्मरवारी गाउँमा आयोजनाको बाँध र मिर्सा गाउँमा विद्युतगृह निर्माण गरिने केसीले जानकारी दिए ।
आयोजनामा बाँध, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, मुख्य सुरुङ, पेनस्टक पाइप, विद्युतगृह र निकास नहरलगायत संरचना निर्माण हुने उनले जानकारी दिए ।
बाँध निर्माण गरी ४ किलोमिटर लामो सुरुङमाफर्त विद्युतगृहमा पानी खसाली विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट २०७९ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । कोरोना महामारीले आयोजनाको काम प्रभावित भएकाले कही महिना ढिलाइ हुने संभावना छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको लाहाचोक सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्ने भएको छ ।
आयोजना बनाउन ५ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ । नेपाल इन्फास्ट्रक्चर बैंकले मूल लगानी हुने छ । नेपाल इन्फास्ट्रक्चरको अगुवाई हिमालयन बैंक र सानीमा बैंकको लगानी हुने गरी सहवित्तीयकरण ऋण सम्झौता भइसकेको छ । नेपाल इन्फास्ट्रक्चरको अगुवाईमा सहवित्तीयकरणसमेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ ।
बैंक र प्रवर्द्धक कम्पनीबीच ऋण लगानी सम्झौता भइसकेको छ । बाँकी स्वपुँजी (इक्विटी) लगानी हुनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने छ ।